भारतमा लोकसभा निर्वाचनको परिणाम बाहिरिँदै गर्दा सेयर बजारमा उच्च गिरावट आएको छ।
भारतीय प्रमूख सेयर बजार सूचक बिएससी सेन्सेक्स ४३८९.७३ अंकले घटेर ७२०७९.०९ विन्दुमा र निफ्टी १३७९.४० अंकले घटेर २१८८४.५० विन्दुमा आइपुगेको छ। यी दुवै बजारका परिसूचक ५ प्रतिशतभन्दा धेरैले घटेको इण्डियन एक्सप्रेसले समाचारमा लेखेको छ।
मुख्यतः भारतीय जनता पार्टी (भाजपा)को बहुमत नआउने सम्भावना देखिएको भन्दै यसको प्रभाव बजारमा परेको आशंका गरिएको हो। कारोबार अवधिमा यी बजार करीब ८ प्रतिशतसम्म घटेको भएपनि बजार बन्द हुने समयमा केही सुधार देखिएको थियो।
कारोबार अवधिमा यी बजारमा सूचीकृत कतिपय कम्पनीहरूको सेयर मूल्य १५ प्रतिशतसम्म घटेका थिए।
बिएससीमा सूचीकृत मिड क्याप (मध्यम बजार पुँजीकरण भएका) कम्पनीहरूबाट एकै दिनमा लगानीकतोको सम्पत्तिमा एकै तीन सय खर्ब रूपैयाँले ह्रास आएको छ। यी कम्पनीहरूको बजार पूँजीकरण चार हजार खर्ब रूपैयाँ छ। चार वर्षयता पहिलो पटक यी कम्पनीहरूको बजार पूँजीकरण एकै दिन यो दरमा उच्चले ह्रास भएको हो।