भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत प्राप्त गर्ने सम्भावना कम देखिएको छ।
भाजपा नेतृत्वको एनडिएले तीन सय सिट ल्याउने सम्भावना कम छ।
विपक्षी दल कंग्रेस आई नेतृत्वको इन्डियाले २३० सिट हाराहारीमा अग्रता लिएको छ।
एनडिएले २९४ सिटमा अग्रता लिएको भए पनि भाजपाले २५० सिट भन्दा कम ल्याउने आकलन छ।
भारतमा सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ।
यस्तो स्थितिमा मोदीलाई सरकार बनाउन नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडियू), जयन्त चौधरी नेतृत्वको राष्ट्रिय लोक दल (आरएलडी) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगु डेसाम पार्टी (टिडिपी)को महत्वपूर्ण भूमिका रहने एनडिटिभीले जनाएको छ।
यी दल एनडिए गठबन्धनमै छन्। मोदीलाई अब सरकार बनाउन यी दलको साथ कायमै राख्नुपर्ने हुन्छ। इन्डिया गठबन्धनले पनि एनडिए गठबन्धनमा सामेल दलका नेताहरूसँग संवादलाई अघि बढाएको चर्चासमेत भइरहेका छन्।
विहारमा ४० लोकसभा सिटमा मतगणना जारी छ।
भाजपाले १७ स्थानमा चुनाव लडेको थियो। तर ९ सिटमा मात्रै अगाडि छ। १६ सिटमा उम्मेदवारी दिएको जेडियूले १४ स्थानमा अग्रता लिइरहेको छ।
यता आन्ध्रा प्रदेशमा नायडू टिडिपीले पनि राम्रो अग्रता कायम गरेको छ। २५ सिटमा उम्मेदवारी दिएको यस पार्टी १६ स्थानमा अग्रता लिइरहेको छ। जसकारण यस पार्टीले भाजपासँगको सरकार गठनमा मुख्य भूमिका खेल्ने देखिएको छ।
मतगणना भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहे गठबन्धनबारे छलफल गर्न फोन सम्पर्क गरिसकेको हिन्दुस्तान टाइम्सले समाचारमा उल्लेख गरेको छ।
उत्तर प्रदेशमा जयन्त चौधरीको आरएलडीले दुई सिटमा जित्न सक्ने देखिएको छ। दुई सिट नै भएपनि यहाँ यस दलको सहयोगमा भाजपाले ३५ सिटमा अग्रता लिएको छ।
विहारमा पछिल्लो समय नितिश कुमार लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी)को साथ छाडेर एनडिएमा सहभागी भई चुनाव लडेको थियो। नितिश कुमार गठबन्धन बदलिरहने गरेको हुँदा उनले अन्तिममा कसको साथ दिन्छन् भन्ने खुल्न बाँकी छ।