भारतमा लोक सभा निर्वाचनको मत मंगलबार बिहानदेखि गणना भइरहेको छ।
लोक सभाका ५४३ सिटमध्ये मंगलबार दिउँसो पौने ३ बजेसम्मको परिणामअनुसार ३ क्षेत्रको मात्र नतिजा आएको छ।
जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले २ सिट जितेको छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १ सिट जितेको छ।
इन्डिया गठबन्धनबाट कंग्रेसका उम्मेदवार चरनजित सिंह लोक सभा सदस्य निर्वाचित भएका हुन्।
एनडिएबाट जितेका दुई जना नै भाजपाका हुन्।
भाजपाबाट नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिंधिया र भाजपाकै मुकेस दलाल भने गुजरातको सुरतबाट लोक सभामा निर्विरोध निर्वाचित भएका थिए। यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएको थियो भने अरू उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका थिए।
एनडिए गठबन्धन २८६ सिटमा अघि रहँदा इन्डिया गठबन्धन २३४ सिटमा अघि छ भने अन्य दल २० सिटमा अघि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
सन् २०१९ को चुनावमा एनडिएले ३५२, इन्डिया गठबन्धनले ९४ र अन्यले ९७ सिट जितेका थिए।