भारतमा भएको लोक सभा निर्वाचनको मतगणना मंगलबार बिहानदेखि भइरहेको छ।
५४३ लोक सभा क्षेत्रमध्ये ५२२ क्षेत्रको मतगणना गरिएको छ। एक सिटमा भारतीय जनता पार्टी नेतृत्वको एनडिएले जित हासिल गरिसकेको छ।
२८२ सिटमा एनडिए अगाडि छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २१५ सिटमा अगाडि छ। अन्य पार्टीहरू २६ सिटमा अघि छन्।
४० लोक सभा सिट रहेको बिहारमा ३२ सिटमा एनडिए गठबन्धन अगाडि छ भने आरजेडी ५ सिटमा अगाडि छ। अन्य दल २ सिटमा अघि छन्।
विभिन्न मिडियाले गरेका सर्वेक्षणमा यहाँ एनडिएले अघिल्लो निर्वाचनमा ल्याए जति सिट नै ल्याउने दाबी गरेका थिए।
सन् २०१९ मा भएको चुनावमा एनडिएले ३९ सिटमा जितेको थियो। यसपालि पहिलेभन्दा सिट घट्ने देखिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारका विभिन्न ठाउँमा भएका चुनावी सभालाई सम्बोधन गरेका थिए। मोदीले बिहारका चुनावी सभालाई महत्व दिँदै १९ वटा सभालाई सम्बोधन गरेका थिए।
बिहारमा अहिले जनता दल (यूनाइटेड) नितेशकुमार मुख्यमन्त्री छन्। जनता दल (यूनाइटेड) पनि एनडिए गठबन्धनमा छ।