भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिएका छन्।
मंगलबार भारतमा भइरहेको मतगणनामा नरेन्द्र मोदीले अग्रता लिएका हुन्। वाराणसीमा साढे १० बजेको अपडेट अनुसार उनले ५८०३७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी भारतीय कंग्रेस आइका उम्मेदवार अजय रायले ४४ हजार ३९९ मत पाएका हुन्।
यसअघि मोदी साढे दुई घण्टा पछि परेका थिए। अहिले मोदी १६ हजार बढी मतले अग्रता लिएका छन्।
यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
यता विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि केलरको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा अग्रता लिइरहेका छन्।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता
भारतको लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता लिएको छ।
मंगलबार बिहान साढे १० बजेसम्मको अपडेट अनुसार ५४३ मध्ये ५१३ सिटको गणना भइरहेको छ।
कंग्रेस नेतृत्वको गठबन्धनले सन् २०१९को लोक सभा निर्वाचनमा ९४ सिटमात्रै जितेको थियो। तर अहिले कंग्रेस नेतृत्वको इन्डियाले २१४ सिटमा अग्रता लिइरहेको हो।
भारतीय जनता पार्टी नेतृत्वको एनडिए भने बहुमततर्फ अग्रसर छ। एनडिएले २७५ सिटमा अग्रता लिइरहेको छ। एक सिटमा भने जितेको छ।
यसअघि सन् २०१९मा भएको निर्वाचनमा एनडिएले ३५२ सिटमा जितेको थियो। अन्य दलहरूले ९७ सिट जितेकोमा अहिले २२ सिटमा मात्रै अग्रता कायम गरेको हो।
बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ।
यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो।
भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।