भारतको लोकसभा निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन अघिल्लो चुनाव भन्दा दोब्बर सिटमा अग्रता लिएको छ।
मंगलबार बिहान साढे १० बजेसम्मको अपडेट अनुसार ५४३ मध्ये ५१३ सिटको गणना भइरहेको छ।
कंग्रेस नेतृत्वको गठबन्धनले सन् २०१९को लोक सभा निर्वाचनमा ९४ सिटमात्रै जितेको थियो। तर अहिले कंग्रेस नेतृत्वको इन्डियाले २१४ सिटमा अग्रता लिइरहेको हो।
भारतीय जनता पार्टी नेतृत्वको एनडिए भने बहुमततर्फ अग्रसर छ। एनडिएले २७५ सिटमा अग्रता लिइरहेको छ। एक सिटमा भने जितेको छ।
यसअघि सन् २०१९मा भएको निर्वाचनमा एनडिएले ३५२ सिटमा जितेको थियो। अन्य दलहरूले ९७ सिट जितेकोमा अहिले २२ सिटमा मात्रै अग्रता कायम गरेको हो।
बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ।
यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो।
भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।
दुवै सिटमा राहुल गान्धीको अग्रता, नरेन्द्र मोदी पछाडि
कंग्रेस आईका नेता राहुल गान्धी यसपालि पनि केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा उम्मेदवार छन्।
प्रारम्भिक चरणमा यी दुवै स्थानमा गान्धीले अग्रता लिएका छन्।
यता प्रधानमन्त्री समेत रहेका नरेन्द्र मोदी वाराणसीमा पछि परेका छन्।
मोदी ९ बजे कंग्रेसका अजय राईसँग १० हजार भोटले पछि परेका थिए। ९ बजेर ३९ मिनेटमा ४ हजार मतले पछि परेका थिए।
पछिल्लो अपडेट अनुसार उनी १ हजार ६ सय मतले पछि परेका छन्।
यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए। २०१९ मा समाजवादी पार्टीकी सालिनी यादवले दोस्रोस्थान हासिल गरेकी थिइन्।
सन् २०१४ मा मोदीले ५ लाख ८१ हजार भन्दा बढी मत पाएका थिए। त्यतिबेला आम आदमीका अरबिन्द केजरीवालले २ लाख भन्दा बढी मत पाएका थिए। अजय रायले करिब ७५ हजार मत मात्रै पाएका थिए।