भारतमा लोकसभा चुनावको मतगणना जारी छ।
मंगलबार बिहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टीले अग्रता लिएको छ।
केही क्षेत्रमा मतगणना सुरू भइसकेको र केही क्षेत्रमा गन्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार यो समाचार तयार पार्दासम्म ३९० सिटमा मतगणना जारी छ।
तीमध्ये १९२ स्थानमा भारतीय जनता पार्टीले अग्रता लिएको छ भने कंग्रेस आई ७४ सिटमा अगाडि छ। ११६ स्थानमा अन्य राष्ट्रिय तथा क्षेत्रीय दलका उम्मेदवार अगाडि छन्।
यो मतगणना सुरू भएको डेढ घन्टापछिको परिणाम हो । आज साँझसम्म अन्तिम नतिजा आउने बताइएको छ।
गुजरातको सुरत सिटमा भारतीय जनता पार्टीका मुकेश दलाल निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ।
यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो।भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।