भारतमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम आज सार्वजनिक हुँदैछ।
भारतीय चुनाव आयोगका अनुसार लोकसभाका ५४३ सिटमध्ये ५४२ सिटको मतगणना स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि सुरू हुनेछ।
आयोगले गुजरातको सुरत लोकसभा सिटमा भारतीय जनता पार्टीका मुकेश दलाल निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका थिए।
८ बजेदेखि सुरू हुने मतगणनामा सुरूमा हुलाकमार्फत गरिएको मत गन्ने र त्यसको आधा घन्टापछि विद्युतीय भोटिङको गणना सुरू हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
मतपरिणाम आजै सार्वजनिक हुने बताइएको छ।
मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार पत्रकार सम्मेलनमा १९ अप्रिलदेखि सुरू भई विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेको जानकारी दिएका छन्।
यीमध्ये महिला मतदाताको संख्या ३१ करोड २ लाख रहेको छ। प्रमुख आयुक्त राजीवकुमारले यसपालि ५८.५८ प्रतिशत मतदान भएको बताएका छन्।
विभिन्न क्षेत्रमा हुने मतगणनामा कुल ३० देखि ३५ लाखको संख्यामा मतगणना प्रतिनिधि सहभागी हुने जनाएको छ।
भारतमा गत शनिबार अन्तिम चरणको मतदान सम्पन्न भएको थियो। त्यसअघि १९ अप्रिलमा पहिलो चरण, अप्रिल २६ दोस्रो चरणको, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो चरण, मे २० मा पाचौं चरण, मे २५ मा छैटौं चरणको मतदान भएको थियो।
अन्तिम चरणको मतदान सम्पन्न भएपछि विभिन्न एक्जिट पोलहरूले भाजपा नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार लगभग सबै एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन्।
त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि जित्ने प्रक्षेपण गरिएको छ।
५४३ सदस्यीय लोक सभामा बहुमत पुर्याउन एनडिएलाई २७२ सिट चाहिन्छ।
चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए।
मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो।
मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्।
सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्याउने अनुमान छ।
भारतका एक्जिट पोलहरूले सन् २००४ र २००९ मा चुनावको ठीक प्रक्षेपण गर्न सकेका थिएनन्।
सन् २००४ मा भाजपाले नेतृत्व गरेको एनडिए गठबन्धनले बहुमत ल्याउने र भाजपा नेता अटल बिहारी बाजपेयी प्रधानमन्त्री बन्ने प्रक्षेपण गरिएको थियो। तर सो निर्वाचनमा कंग्रेस आईले नेतृत्व गरेको युनाइटेड पिपल्स अलायन्स (युपिए) ले जित हासिल गरेको थियो। कंग्रेस आईका नेता तथा पूर्वअर्थमन्त्री मनमोहन सिंह प्रधानमन्त्री चुनिएका थिए।
सन् २००९ मा पनि युपिए गठबन्धनको थोरै सिट आउने भनेर एक्जिट पोलहरूले गरेको अनुमान मिलेको थिएन। त्यो चुनावपछि पनि युपिएकै मनमोहन सिंह दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए।
तर सन् २०१४ र सन् २०१९ का दुई आमनिर्वाचनमा एक्जिट पोलहरूले चुनावको नतिजा ठीक प्रक्षेपण गरेका थिए।
प्रक्षेपणअनुसार दुबैपटक भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याएको थियो।