भारतमा लोकसभा निर्वाचन अन्तर्गत छैटौं चरणको मतदान जारी छ।
केन्द्र शासित प्रदेशसहित ८ राज्यका विभिन्न ५८ सिटका लागि शनिबार बिहानदेखि मतदान सुरू भएको हो।
दिल्लीका सात सिट, हरियाणाका १० सिट, बिहारका ८ सिट, जम्मु कश्मिरको एक सिट,झारखण्डका चार सिट, ओडिसाका ६ सिट, उत्तर प्रदेशका १४ सिट र पश्चिम बंगालका ८ सिटमा आज मतदान भइरहेको हो।
ओडिसामा लोकसभा सँगै विधानसभाका ४२ सिटका लागि पनि मतदान भइरहेको छ। ओडिसामा चार चरणमा विधानसभा चुनावको मतदान भइरहेको छ। यहाँ मे १३ र मे २० मा पहिलो र दोस्रो चरणको मतदान भइसकेको छ। जुन १ मा अन्तिम चरणको मतदान हुनेछ।
लोकसभाको छैटौं चरणको मतदान गर्न ९६ करोड ८० लाख मतदाता छन्। यीमध्ये १ करोड ८९ लाखले पहिलो पटक मतदान गर्दैछन्। त्यस्तै २० देखि २९ वर्ष सम्मका १९ करोड ७४ लाख मतदाता छन्।
छैटौं चरणमा नयाँ दिल्ली, उत्तर पूर्व दिल्ली, उत्तर पश्चिम दिल्ली, चाँदनी चोक तथा उत्तर प्रदेशका सुल्तानपुर र आजमगढ चर्चित सिट हुन्।
यसबाहेक जम्मू कश्मिरको अनन्तनाग-रजौरी, पश्चिम बंगालको तामलुक मोदिनीपुर, हरियाणाको करनाल, कुरूक्षेत्र, गुडगाव, रोहतक तथा ओडिसाको भूवनेश्वर, पुरी र सम्बलपुर सिट प्रमुख हुन्।
चर्चित उम्मेदवारहरू:
संबित पात्रा
संबित पात्रा भारतीय जनता पार्टीका प्रवक्ता हुन्। उनी ओडिशाबाट चुनाव लड्दै छन्।
धर्मेन्द्र प्रधान
भारतीय जनता पार्टीका नेता समेत रहका केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान ओडिशाको संवबलपुर सिटमा उम्मेदवार छन्।
मेनका गान्धी
उत्तर प्रदेशको सुल्तानपुर सिटबाट दोस्रो पटक चुनाव लड्दै छिन् मेनका गान्धी। उनका पुत्र बरूण गान्धीलाई भने यसपालि भाजपाले टिकट दिएन।
कन्हैया कुमार
दिल्लीको उत्तर पूर्वी लोकसभा सिटमा कांग्रेसबाट कन्हैया कुमार उम्मेदवार छन्। जेएनयू छात्र संघका पूर्व अध्यक्ष रहेका कन्हैया कुमारसँग प्रतिस्पर्धा गर्न भाजपाले मनोज तिवारीलाई उम्मेदवार बनाएको छ।
मदिरा नीतिमा घोटाला गरेको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल मतदान अघिमात्रै छुटेका थिए।
जेलबाट छुटेर उनी लगातार चुनाव प्रचारमा छन्। केजरीवाल फ्याक्टरले पनि छैटौं चरणको मतदान थप महत्वपूर्ण साबित हुनेछ।
आगामी जुन १ मा अन्तिम चरणको मतदान हुनेछ। सबै चरणको मतदान सकिएपछि ४ जुनबाट मतगणना सुरू हुनेछ।