अरबिन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गर्दै दायर भएको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
सोमबार सर्वोच्च अदालतले उक्त रिट खारेज गरेको भारतीय संचार संस्था एनडिटिभीले जनाएको छ।
न्यायाधीशहरू सन्जिब खन्ना र दिपान्कर दत्तको इजलासले यसबारे निर्णय गर्न दिल्लीका लेफ्टिनेन्ट गभर्नर भीके सक्सेनाको अधिकार भएको बताए।
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गर्दै कान्त भाटीले रिट दायर गरेका थिए। रिटलाई सोमबार अदालतले खारेज गरेको हो।
सर्वोच्च अदालतले वैशाख २८ गते केजरीवाललाई जमानतमा छाड्न आदेश दिएको थियो। उनलाई भारतमा जारी आम निर्वाचनमा सहभागी हुन जमानतमा छाडिएको हो।
उनले जुन २ तारिखमा फेरि प्रहरीसमक्ष आत्मसमर्पण गर्नुपर्ने भनिएको छ।
केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा भारतको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो।
पक्राउ गरी उनलाई तिहाड जेलमा राखिएको थियो। उनी चार दिनअघि जेलमुक्त भएका थिए।