भारतको लोकसभा निर्वाचन अन्तर्गत आज चौथो चरणको मतदान जारी छ।
आज दस राज्य र केन्द्र प्रशासित प्रदेशसहितका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको हो।
लोकसभातर्फ आन्ध्र प्रदेशका २५ सिट, बिहारका ५ सिट, झारखण्डका ४ सिट, मध्यप्रदेशका ८ सिट, महाराष्ट्रका ११ सिट, ओडिशाका ४ सिट, तेलांगनाका १७ सिट, उत्तर प्रदेशका १३ सिट, पश्चिम बंगालका ८ सिट र जम्मूकश्मीरको एक सिटका लागि आज बिहान ७ बजेदेखि मतदान जारी छ।
लोकसभासँगै आन्ध्र प्रदेशको १७५ विधानसभा र ओडिशाका २८ विधानसभा सिटका लागि पनि आजै मतदान भइरहेको छ।
लोकसभा सदस्यका लागि समाजवादी पार्टीका अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघन सिन्हासमेत गरी १ हजार ७०७ उम्मेदवार छन्।
यस चरणमा १७ करोड ७० लाख भारतीयहरूले मतदान गर्नेछन्। मतदानका लागि १९ लाख भन्दा बढी केन्द्रहरू छन्।
चर्चित अनुहारहरू को-को छन्?
अखिलेश यादव
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव कन्नौजमा उम्मेदवार छन्। उनी उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री हुन्।
यसपालि उनको प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका सुब्रत पाठक छन्।
पाठकले अघिल्लो निर्वाचनमा अखिलेश यादवकी श्रीमती डिम्पल यादवलाई थोरै मतले मात्र पराजित गरेका थिए।
त्यसअघि २०१४ मा डिम्पल यादव र २००९ मा अखिलेश यादव निर्वाचित भएका थिए।
अजय कुमार मिश्र टेनीः
भारतका संघीय मन्त्री अजयकुमार मिश्र उत्तरप्रदेशको खिरीबाट तेस्रोपटक चुनाव लड्दैछन्। उनीविरूद्ध समाजवादीले उत्कर्ष वर्मालाई उठाएको छ। मिश्र २०१४ देखि लगातार जित्दै आएका छन्।
सन् २०२१ मा खिरीको तिकुनिया गाउँमा चार किसानसहित ८ जनाको मृत्यु हुनेगरी भएको हिंसामा मिश्रका छोरा मुख्य आरोपी रहेको खुलेपछि भने परिणाम उल्टिने अड्कलबाजी भइरहेको बिबिसीले उल्लेख गरेको छ।
महुआ मोइत्रा
पश्चिम बंगालको नदिया जिल्लाको कृष्णनगर सीटमा महुआ मोइत्रा चुनाव लड्दैछिन्। तृणमूल कंग्रेस नेता मोइत्रा विरूद्ध भाजपाले अमृता रायलाई उठाएको छ। अघिल्लो चुनावमा मोइत्राले भाजपाका कल्याण चौबेलाई पराजित गरेकी थिइन्। यहाँ २००९ देखि तृणमूल कंग्रेसले जित्दै आइरहेको छ।
युसुफ पठान
पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको बहरमपुर सिटमा तृणमूल कंग्रेसबाट युसुफ पठान उम्मेदवार छन्। उनीविरूद्ध कंग्रेस आईका वरिष्ठ नेता अधीर रञ्जन चौधरीलाई उठाएको छ।
यहाँ १९९९ देखि अधीर रञ्जन निर्वाचित हुँदै आएका छन्।
शत्रुघन सिन्हा
पश्चिम बंगालको आसनसोल लोकसभा सिटमा तृणमूल कंग्रेसबाट शत्रुघन सिन्हा उम्मेदवार छन्। सन् २०२२ मा भएको उपनिर्वाचनमा सिन्हाले भाजपाका अग्निमित्रा पाललाई पराजित गरेका थिए। त्यसअघि २०१९ मा भएको लोकसभा चुनावमा भाजपाका बाबुल सुप्रियो निर्वाचित भएका थिए।
असदुद्दीन औवेसी
अल इन्डिया मज्लिस-इ- इतिहादुल मुस्लिमीन पार्टीका प्रमुख असदुद्दीन औवैसी हैदरावाद सिटबाट चुनाव लड्दैछन्।
यहाँ उनी यसअघि चार पटकसम्म चुनाव जितिसकेका छन्। यसपालि उनीसँग प्रतिस्पर्धा गर्न भाजपाले माधवी लतालाई अघि सारेको छ। माधवी पहिलोपटक लोकसभा चुनाव लड्न लागेकी हुन्।
त्यस्तै गिरिराज सिंह, अर्जुन मुंडा, माधवी लता लगायतका उम्मेदवार मैदानमा छन्।
मतगणना सातै चरणका मतदान सकिएपछि हुनेछ।