भारतको उत्तरपूर्वी दिल्लीमा दुई मजदुरको गोली हानी हत्या भएको छ।
बुधबार बिहान करिब २ बजे उत्तरपूर्वी दिल्लीको वेलकम क्षेत्रमा दुई मजदुरको हत्या भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
त्यहाँका स्थानीयले मानिस मृत फेला परेको खबर गरेपछि करिब सवा २ बजे घटनास्थल पुगेको प्रहरीले दुई जनालाई गोली लागेर ढलेको अवस्थामा भेट्टाएको थियो।
गोली लागेकाहरू वेलकम एरियाकै सुभास पार्कनजिक बस्ने ४० वर्षीय प्रदीप कुमार र जनता कोलोनीका ४० वर्षीय बब्लु मुजाहित रहेको डिसिपी जोए टिर्केले इन्डियन एक्सप्रेसलाई बताएका छन्।
दुबै जनाको छाती र पेटमा गोली लागेको छ। प्रहरीले करिब तीन सय मिटरको दुरीमा प्रदीप र बब्लु ढलेको अवस्थामा फेला पारेको थियो।
उनीहरूलाई उद्दार गरी जिटिबी अस्पताल पुर्याइएकोमा चिकित्सकले दुबैलाई मृत घोषणा गरिदिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुबै जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेको खुलेको छ।
डिसिपी टिर्केका अनुसार बब्लुको यसअघि विभिन्न आपराधिक गतिविधिमा संलग्नता भेटिएको छ। उनीविरूद्ध लुटपाट, डकैती र चोरीका १३ वटा मुद्दा दर्ता रहेको डिएसपी टिर्केले जानकारी दिए।
गएराति गोली प्रहार हुँदा प्रदीप र बब्लु सँगै रहेको प्रहरीको आकलन छ। अज्ञात समूहले दुईमध्ये पहिला बब्लुमाथि गोली प्रहार गरेका थिए। बब्लु ढलेपछि भाग्दै गरेक प्रदीपमाथि
गोली प्रहार भएको थियो। त्यसकारण उनीहरूको शव तीन सय मिटर दुरीमा भेटिएको उनले बताए। आक्रमणकारीहरूकोअवस्था अझै अज्ञात रहेका बताइएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीको टोली गठन गरिएको र नजिकै रहेको सिसीटिभी फुटेजहरू संकलन भइरहेको प्रहरीले जनाएको छ।