कोरोना भाइरस संक्रमित बढ्दै जाँदा भारतका केही राज्यमा अक्सिजन अभाव भएको छ।
भारतका थुप्रै राज्य अक्सिजनका लागि अन्य राज्यमा पूर्ण वा आंशिकरूपमा निर्भर छन्।
अक्सिजन अभाव हुनेभएपछि अक्सिजन उत्पादन गरिरहेका राज्यहरू तिनको निकासी रोक्ने प्रयासमा लागेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले ती राज्यहरूलाई त्यसो नगर्ने पत्र जारी गरेको छ।
मन्त्रालयले महाराष्ट्र सरकारले विपद व्यवस्थापन कानुन अन्तरगत राज्यबाहिर अक्सिजन नलैजाने आदेश दिएपछि पत्र लेखेको हो।
महाराष्ट्रले सेप्टेम्बर ७ मा पैठारीमा रोक लगाउँदै उत्पादनको ८० प्रतिशत अक्सिजन आफैं राख्ने निर्णय गरेपछि मध्य प्रदेश र कर्नाटक राज्यले अक्सिजन अभाव झेलेका थिए।
अक्सिजन अभाव भएपछि मध्यप्रदेशको देवास जिल्लाका चार जना विरामीले ज्यान गुमाएको खबर सार्वजनिक भएको थियो। यध्यपी सरकारले अक्सिजन अभाव भएपनि मृत्युको रिपोर्टलाई अस्वीकार गरेको थियो।
नागपुरको उत्पादन युनिटले त्यहाँका देवस, जबलपुर, छिन्दीवारा र दामोहमा अक्सिजन पठाउन बन्द गरेपछि गत साता उनीहरूले अक्सिजन अभाव झेलेका थिए।
महाराष्ट्रसँगै पंजाब राज्यले पनि आफ्ना राज्यका उत्पादन कम्पनीमाथि अक्सिजन पैठारी गर्न रोक लगाएको थियो। योसँगै ऊ आपूर्ति बढाउन हिमाञ्चल, उत्तराखण्ड र हरियाणासम्म पुगेको छ।
अभावसँगै अक्सिजनको मूल्यमा पनि वृद्धि भएको छ।
उत्तर प्रदेशमा प्रति सिलिण्डरको मुल्य ५ हजारबाट १० हजार पुगेको छ भने बिहारमा यसअघि ७ हजारमा पाइने अक्सिजनको मूल्य बढेर प्रतिसिलिण्डर ८ हजार ५ सय पुगेको छ।
यस्तै गुजरातमा प्रति सिलिण्डरको मूल्य ६५ सयबाट १० हजार पुगेको छ।