भारतले कोरोना भाइरसको परीक्षण दरलाई आक्रामक रूपले अगाडि बढाएको छ।
तीव्र रूपमा संक्रमित पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिङ गर्ने लक्ष्यका साथ एकैदिनमा १० लाखसम्मको परीक्षण गरेको छ। यसमध्ये पोजिटिभ दर १० प्रतिशतभन्दा कम छ।
शुक्रबारमात्रै १० लाख २३ हजार आठ सय ३६ को परीक्षण गरेको छ। जसमा ७० हजार मानिसमा संक्रमण भएको पुष्टि भएको थियो।
केही सातायता संक्रमितको संख्या लगातार बढीरहेको छ। जुलाई ८ देखि अगस्ट ११ सम्म परीक्षण गरिएकामध्ये ९ देखि १० दशमलव ९४ प्रतिशतमा पोजेटिभ देखिएको थियो।
यसपछिको समयमा यो प्रतिशत तल झरिरहेको छ। अगस्ट १२ देखि १८ सम्म दैनिक परीक्षणमा ७ दशमलव ७ प्रतिशत पोजेटिभ केस भेटिएका थिए।
देशमा निजी प्रयोगशालाले पनि परीक्षणलाई तीव्र बनाएका छन्, एक हजार पाँच सय ११ मध्ये नौ सय ८३ सरकारी प्रयोगशाला छन्।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको तेस्रो स्थानमा भारत रहेको छ। हालसम्म त्यहाँ ३० लाख मानिस संक्रमित भएका छन् भने ५६ हजारभन्दा बढी ज्यान गइसकेको छ।
संक्रमणको जोखिम कायमै रहेका देशहरुमध्ये शनिबारसम्म अमेरिकापछि सबैभन्दा धेरै परीक्षण गर्ने देश भारत रहेको छ। चीनले ९० मिलियन मानिसको परीक्षण गरेको छ तर त्यहाँ हाल भाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ।
अमेरिकाले ७४ मिलियन, भारतले ३४ मिलियन र रुसले ३३ मिलियन मानिसमा परीक्षण गरिसकेका छन्।