कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा फेरि लकडाउन सुरू भएको छ।
लकडाउन आजबाट १६ दिनसम्म जारी रहनेछ।
हिन्दुस्थान टाइम्सले आजबाट सुरू भएको लकडाउन जुलाई ३१ मा सकिने जनाएको छ।
बिहार सरकारले मंगलबार लकडाउन राज्यका सबै ठाउँमा हुने घोषणा गरेको थियो।
लकडाउन अवधिभर अपवादबाहेक सम्पूर्ण सरकारी कार्यालय, निजी तथा व्यवसायिक प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
यसैगरी यातायात क्षेत्र पनि यस अवधिमा बन्द रहनेछ। सरकारले राज्यको राजधानी पटनामा कडा लकडाउन गरेको छ। सरकारले लकडाउन उल्लघंन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।
यसैगरी नागरिकहरू मन्दिर जान पाउनेछैनन् तर मन्दिरका पूजारीले नित्य पूजा गर्न पाउनेछन्। मन्दिर हाताभित्र हुने अन्य गतिविधिलाई पूर्णरूपमा निषेध गरिएको छ।
गाडी तथा मोबाइल मर्मत केन्द्रहरू भने सरकारको अनुमतिमा खोल्न पाइनेछ। संक्रमण भएका क्षेत्रमा भने यस्ता केन्द्र खोल्न पाइनेछैन।
यसैगरी बिहार सरकारले औधोगिक प्रतिष्ठान र निर्माण क्षेत्र खुला रहने जनाएको छ।
यसका लागि विशेष निर्देशनहरूको पालना गर्नुपर्नेछ। यस अवधिमा कृषि गतिविधि र कृषि उत्पादन बिक्री गर्ने पसलहरू खुला रहनेछन्।
यस्तै होटल तथा रेस्टुरेन्टहरू खुल्ला रहनेछन्।