भारतमा कोरोना भाइरस संक्रमित संख्या १ लाख नाघेको छ।
भारतमा पहिलो पटक कोरोनाका संक्रमित जनवरी ३१ मा केरेलामा भेटिएका थिए।
त्यसपछि संक्रमित संख्या बढेसँगै भारत देशव्यापी लकडाउनमा गएको थियो।
पहिलो संक्रमित थाहा भएको ७८ औं दिनमा भारतको संक्रमित संख्या १ लाख ३ सय ११ पुगेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यस्तै संक्रमणका कारण ३ हजार ८१ जनाले ज्यान गुमाएका छन्।
संक्रमित संख्या उच्च भएपनि सोका कारण हुने मृत्यु विश्वका अन्य मुलुकको तुलनामा भारतमा कम देखिएको छ।
'संख्या अनुमान गर्न गाह्रो छ किनभने यो मानिसको चहलपहल, व्यक्तिगत सरसफाइ र संक्रमणको जोखिम रहेका विभिन्न क्षेत्रमा उनीहरुको उपस्थितिमा निर्भर गर्छ' भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले भने, 'आप्रवासी र देश भित्र-बाहिर यात्रा गर्ने मानिसहरुको सम्पर्कको अनुपातमा पनि निर्भर गर्छ।'
भारतको राजधानी नयाँ दिल्लीमा मात्र सोमबार २ सय ९९ नयाँ संक्रमित फेला परेका छन्।
योसँगै दिल्लीमा संक्रमित संख्या १० हजार ५४ पुगेको छ भने संक्रमणका कारण १६० जनाको मृत्यु भएको छ।
दिल्लीमा प्रति दश लाख ६ हजार ९ सय १९ जनाको कोरोना परीक्षण हुँदै आएको छ। यो सबैभन्दा उच्च परीक्षण दरहरू मध्यको एक हो।
भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतको राष्ट्रिय परीक्षणदर प्रति १० जनसंख्यामा १ हजार ५ सय ४० छ।