भारतमा कोरोना भाइरस संक्रमित संख्यामा दैनिकी वृद्धि देखिनेक्रम जारी रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार महाराष्ट्र, गुजरात र दिल्ली सबैभन्दा बढी कोरोना संक्रमण प्रभावित राज्य हुन्। भारतको राष्ट्रव्यापी लकडाउन हाल चौथो चरणमा छ।
यद्यपि भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) र स्वास्थ्य मन्त्रालयले भाइरस फैलावट सामुदायिक रुपमा नभएको बताउँदै आएका छन्।
सोमबार बिहानसम्म भारतमा कुल संक्रमित संख्या ९० हजार ९ सय २७ पुगेको छ।
यसमध्ये ५३ हजार ९ सय ४६ वटा सक्रिय केस हुन् भने ३४ हजार १ सय ९ जना भने निको भएका छन्।
भारतमा संक्रमणका कारण हालसम्म २ हजार ८ सय ७२ जनाको ज्यान गइसकेको छ।
मृतकमध्ये १ हजार १ सय ३५ जना महाराष्ट्रबाट हुन्। त्यहाँ संक्रमित संख्या ३० हजार ७ सय ६ पुगेको छ।
महाराष्ट्रपछि सबैभन्दा धेरै संक्रमित गुजरात राज्यमा भेटिएका छन्। गुजरातमा १० हजार ९ सय ८८ संक्रमित केस पुष्टि गरिएको छ। यस्तै संक्रमित संख्याको आधारमा तमिलनाडु राज्य तेश्रो स्थानमा रहेको छ।
त्यहाँ १० हजार ५ सय ८५ जना संक्रमित रहेका छन् भने संक्रमणबाट ७४ जनाले ज्यान गुमाएका छन्।
यस्तै गुजरातमा संक्रमणका कारण ६ सय २५ जनाको ज्यान गएको छ।
मे १७ सम्ममा भारतका ७ सय ३६ जिल्लाहरूमध्ये ५ सय ५० जिल्लामा संक्रमित देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यसमध्ये करिव १८० जिल्लाहरुमा संक्रमण पछिल्लो १५ दिनमा देखा परेको हो।
संक्रमित संख्या बढ्दै गएको भएपनि विश्व स्वास्थ्य संगठनले भारतको कोरोना भाइरस रोकथाम प्रयासहरूको प्रशंसा गरेको छ।