भारतमा २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७ सय २२ जना नयाँ संक्रमित फेला परेका छन्।
यसैगरी यो अवधिमा संक्रमणका कारण १ सय ३४ जनाको ज्यान गएको छ।
बिहीवार भेटिएका संक्रमित संख्यासँगै भारतको कुल संक्रमित संख्या ७८ हजार ३ पुगेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको बिहान ८ बजेसम्मको तथ्यांक अनुसार यी केसमध्ये ४९ हजार २ सय १९ वटा सक्रिय केस छन्।
संक्रमणका कारण हालसम्म भारतमा २ हजार ५ सय ४९ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले संक्रमण दोब्बर हुने समय १०.९ दिनबाट १२.२ दिन पुगेको छ।
भारतको सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्र राज्यमा छन्। त्यहाँ २५ हजार ९ सय २२ जनामा यसको संक्रमण पुष्टि भएको छ।
यसपछि धेरै संक्रमित गुजरात र तमिल नाडुमा छन्।
गुजरातमा बिहीवारसम्म ९ हजार २ सय ६४ जना संक्रमित भेटिएका छन् भने तमिल नाडुमा ९ हजार २ सय २७ जनामा संक्रमण भेटिएको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मगंलबार चौथो चरणको लकडाउनका लागि २० लाख करोडको प्याकेज तयार पारेकी छन्।
उक्त प्याकेजको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेका छन्। कोराना भाइरस महामारीको सामना गर्न व्यक्ति र व्यवसायलाई सहयोग पुर्याउन उक्त आर्थिक प्याकेजको घोषणा गरिएको हो।
लकडाउन सम्बन्धी नयाँ निर्णय आगामी केही दिनमा हुने अपेक्षा गरिएको छ।
यद्यपी प्रधानमन्त्री मोदीले लकडाउनको चौथो चरण पूर्णरुपमा नयाँ ढंगको हुने घोषणा गरेका छन्।