कोरोनाबाट भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा एक हजार बढी प्रहरीमा कोरोनाको सङ्क्रमण देखिएको महाराष्ट्र प्रहरीले मंगलवार जनाएको छ।
मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएको प्रमाणित भएसँगै सङ्क्रमित प्रहरीको संख्या एक हजार सात पुगेको छ।
सङ्क्रमणबाट सात जना प्रहरीको मृत्यु भएको छ। सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्।
सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान छन्।
मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ। मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन्।
यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्यमन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका छन्। मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गरेका छन्।