भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरसका ३ हजार ३ सय २० नयाँ संक्रमित भेटिएका छन्।
यसैगरी संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमित संख्या ५९ हजार ६ सय ६२ पुगेको छ भने मृतक संख्या १ हजार ९ सय ८५ भएको छ।
स्वास्थ्य मन्त्रालयको शनिबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार ३९ हजार ८ सय ३४ सक्रिय संक्रमित छन् भने १७ हजार ८ सय ४७ जना निको भइसकेका छन्।
मन्त्रालयका सहसचिव लव अग्रवालले भारतमा कोरोना भाइरस स्थितिबारेको प्रेस ब्रिफिङमा संक्रमित संख्यामा दोब्बरले वृद्धि हुने क्रम कम जानकारी दिए।
यसैगरी भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट निको भएकाको डिस्चार्ज निर्देशनमा परिमार्जन गरेको छ।
परिमार्जित निर्देशन अनुसार गम्भीर केसलाई डिस्चार्ज गर्नुअघि पोलिमरेज चेन रिएक्शन (आरटी-पीसीआर) विधिबाट एकपटक परीक्षण गर्नुपर्नेछ।
यसैगरी परिमार्जित निर्देशनले कम लक्षण देखिने वा पूर्व-लक्षणात्मक र मध्यम अवस्थाका बिरामीलाई डिस्चार्ज गर्नु अघि जाँच गर्नुनपर्ने जनाएको छ।
परिमार्जित निर्देशन सरकारले यसअघिका बनाएका निर्देशनसँग विरोधाभासपूर्ण छन्।
पहिलाको निर्देशनमा प्रयोगशालामा संक्रमण पुष्टि भएकालाई १४ दिनपछि पुनः जाँच गर्नुपर्थ्यो र डिस्चार्ज गर्नु २४ घण्टापूर्व विरामीको परीक्षण गर्नुपर्ने उल्लेख थियो।