राजेन्द्र सिंह र चन्दन पासावानले आइतबार पूर्वी दिल्लीको कैलाश नगरदेखि उत्तर दिल्लीको मोडल टाउनसम्म चर्को घाममा १२ किलोमिटर पैदल हिँडे।
उनीहरूले यो दुःख आफ्नो मासिक तलब थाप्नका लागि गरेका थिए।
यो यात्रा पूरा गर्न उनीहरूलाई तीन घण्टा भन्दा अलिकति बढी समय लाग्यो।
त्यहाँ पुगेर उनीहरूले आफ्नो तलब थापे।
लकडाउनकाबिच खल्तीमा १ सय ५० रुपैयाँ मात्र भएको अवस्थामा पाएको तलब उनीहरूका लागि ठूलो राहत थियो।
तलब थापेर खुशीसाथ घर फर्कदै थिए।
घर पुग्न मात्र दुई किलोमिटर बाँकी थियो।
यो दूरीमा आइपुगेका उनीहरूले त्यसपछि हिँड्दाहिड्दा थाकेको खुट्टालाई केही आराम दिने सोचे।
उनीहरू बाटोमा पर्ने शास्त्री चोकमा एकछिन सुस्ताउन रोकिए।
उनीहरू सुस्ताउन थालेको केही बेरमा नै तलब पाएपछि उनीहरूमा संचार भएको खुशीको हत्या भयो।
चक्कु बोकेर तीन जनाको समूहमा आएको हतियारधारी समूहले उनीहरूको साथमा भएको मोबाइल र तलब सबै लुटिदिए।
'थाकेको खुट्टालाई आराम दिन हामी ट्राफिक जङ्सनमा रोकिएका मात्रै थियौं। तीन जना मानिसहरूले हामीलाई आक्रमण गरे। उनीहरूले हाम्रो घाँटी अठ्याए, मुक्का बर्साए अनि पैसा र मोबाइल लुटेर भागे', लुटिएका ३२ वर्षिय सिंहले भने।
***
सादर बजारको एक श्रृगांर पसलमा काम गर्ने सिंहसँग मार्च २४ मा भारतले लकडाउन घोषणा गर्दा साथमा ५ हजार भारू मात्र थियो।
अप्रिल सुरु हुँदा उनीसँग भएको त्यो पैसा सकियो।
'मेरा ५ वर्ष र १८ महिनाका दुई छोरा छन्। दुध र दैनिक रासन किन्दा मसँग भएको पैसा सकियो', कैलाश नगरमा भाडामा बस्दै आएका सिहंले भने।
सिंहले यति लामो यात्राको दुःख पैसा सकिएर गरेका थिए।
बिच बाटोमा लुटिएपछि उनलाई यसले आहत दिएको छ।
शनिबार राजेन्द्रको साथमा १ सय ५० रुपैँया मात्र बाँकी थियो।
बच्चाहरूलाई दुध खुवाउने पैसासमेत नभएपछि उनले मालिक गुहार्ने निर्णय गरे।
अप्ठ्यारो घडीमा मालिक पनि उनलाई सघाउन तयार भए। तर, लकडाउनले गर्दा बैंकको खाता वा ई-वालेटबाट पैसा दिन सम्भव भएन।
त्यसपछि मोडल टाउनमा बस्ने मालिकलाई सिंहले पैसा लिन उनकै घर आउने बताए।
उनले यसका लागि आफ्ना साथी चन्दनलाई मालिकको घरसम्म साथी हिँड्न आग्रह गरे।
चन्दन राजेन्द्रसँग जान तयार भए।
'बिहान चिया खायौं अनि साथमा मोबाइल र १ सय ५० रुपैयाँ लिएर हामी हिँड्यौं। हामीले साथमा एक-एक बोतल पानी पनि बोकेका थियौं तर त्यो हामी हिँडेको केही मिनेटमा नै सकियो', सिंहले सुनाए।
बाटोमा कुनै पसल नखुलेकाले साथमा रहेको १ सय ५० रुपैयाँले खाजापानी केही किन्न पाएनन्।
भोक र तिर्खासहित साढे १२ बजेतीर उनीहरू मालिकको घर पुगे।
मालिकको घरमा उनीहरू पुग्दा खाना खाने समय भएकाले उनीहरूले १५-२० मिनेट कुर्न पर्यो।
त्यसपछि मालिकले सिहंलाई ६ हजार र उनका साथी चन्दनलाई ५ हजार दिए।
पैसा दिएपनि मालिकले उनीहरूलाई खाना तथा पानीका लागि सोधेनन्।
मालिकले पानी र खानाका लागि नसोधे पनि पैसा पाएकोमा उनीहरू खुशी थिए।
पैसा लिएर घर फर्किरहेका उनीहरूलाई बाटोमा भाग्यले साथ थियो।
उनीहरूले खुल्ला भएको एउटा पसल भेटे।
त्यहाँ उनीहरूले दुई बोतल पानी र केही खाजा किनेर खाएँ।
'हाम्रो खुट्टाको छाला उक्किएको थियो तर केही साताका लागि पैसाको खाँचो टरेकाले हामी हिँडिराख्यौं', सिंहले भने।
घरबाट दुई किलोमिटरको दुरीमा रहेको शास्त्री पार्कको ट्राफिक जक्सन आइपुग्दा दिउँसोको साढे ३ बजेको थियो।
'अचानक चक्कु बोकेर आएका तीनजना मान्छेले झम्टिदैं हामीसँग भएको सबै पैसा मागे। सुरुमा हामीले दैनिक ज्यालादारीका मजदुर भएकाले पैसा नभएको भन्दै ढाँट्यौं तर उनीहरूले हाम्रो घाँटी अठ्याउँदै खानतलाशी गरे', सिंहले आफूमाथिको आपत सुनाउँदै भने।
उनीहरूबाट लुटेराहरूले मोबाइल, ११ हजार र खाजा किनेर बाँकी रहेको १ सय रुपैयाँ लुटेर नजिकैको जंगलमा भागे।
पैसा लुट्ने क्रममा ती लुटेराहरूले सिंहलाई मुक्का हाने जसका कारण उनलाई आँखामा चोट लागेको छ।
साथमा भएको फोन र पैसा लुटिएका उनीहरू नजिकमा रहेको पासवान घर पुगे र प्रहरीलाई आफूहरु लुटिएको खबर दिए।
'हामीले उसको अंकलको फोनबाट पुलिसलाई खबर गर्यौं। पुलिसले हामीलाई शास्त्री पार्क प्रहरी चौकीमा ९ बजेसम्म पानीसमेत नसोधी राखे। प्रहरीले त्यसरी हिँडेको र खाना सकिएकोमा प्रहरी नियन्त्रण कक्षमा फोन नगरेको भन्दै गाली गरें', सिंहले भने।
'मैले फोन गरेको भए, पुलिसले मलाई पैसा वा मेरा बच्चाका लागि दुध ल्याइदिन्थ्यो र?', सिंहको प्रश्न छ।
प्रहरीले उनीहरूको घटनालाई लुटपाट अन्तरगतको केस बनाएर दर्ता गरेको छ।
लुटेराहरूको पक्राउ तथा लुटिएको मोबाइल र पैसा खोज्ने प्रयास भइरहेको जानकारी त्यहाँका डेपुटी कमिस्नर डिके गुप्ताले दिएका छन्।
'हामी दुबै परिवारको ख्याल राख्छौ'', पुलिस चौकीमा गरिएको व्यवहारको प्रश्नमा डिसिपीले भने।
लुटिएका सिंहले केही दिन धानिनका लागि छिमेकीसँग ५ सय रुपैयाँ सापटी लिएका छन्।
'यसपछि के गर्ने मलाई थाहा छैन', उनले भने।