भारतमा देखिएको कोरोना संक्रमण मध्ये कुल ३० प्रतिशत संक्रमण नयाँ दिल्लीको निजामुदिन मार्कजमा आयोजित तबलिगी जमात समारोहसँग सम्बन्धित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
उक्त जमातका कारण २३ प्रदेशमा कोरोना फैलिन पुगेको र ती क्षेत्र संक्रमणको उच्च जोखिममा रहेको उनले बताए।
पुष्टि भएका कुल १४ हजार ३ सय ७८ वटा संक्रमण मध्ये ४ हजार २९१ अर्थात २९.८ प्रतिशत संक्रमण यो जमातसँग सम्बन्धित भएको पुष्टि भएको हो।
यो संक्रमण देशको २३ प्रदेशमा फैलिएको स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले बताए।
उनले तमिलनाडुको ८० प्रतिशत, दिल्लीका ६३ प्रतिशत, तेलाङ्गना ७९ प्रतिशत, उत्तर प्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशमा देखिएका ६१ प्रतिशत संक्रमण यसै जमातसँग सम्बन्धित भएको जानकारी दिएका छन्।