भारतको लखनउमा अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ।
आइतबार बिहान आफ्ना भाइसँग मर्निङ्ग वाक गएको समयमा मोटर साइकलमा आएका दुई जनाले हजरतगन्ज प्रहरी कार्यालय नजिकै उनीहरुमाथि हमला गरेका थिए।
उक्त घटनामा बच्चनको घटनास्थलमै मृत्यु भएको र उनका नातेदार भाइ आदित्य श्रीवास्तवको पाखुरामा गोली लागेको प्रहरीलाई उदृत गर्दै 'द इन्डियन एक्सप्रेस'ले बताएको छ।
'आइतबार बिहान ६ बजे रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका रहेछन्। मोटरसाइकलमा आएका नकाबधारीले बन्दुक तेर्साएर मोबाइल खोसेछन्,' लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाले भने, 'आक्रमणकारीले बच्चनको टाउकोमा गोली हानेर हत्या गरे। दाइको बचाउ गर्न गएका श्रीवास्तव भने घाइते छन्।'
रणजीतको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो। यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनका साथै प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो।