ग्लोबल नेपाली
लमजुङका रमेश भट्टराई ५ वर्षदेखि क्यानडामा रियल–स्टेट (घरजग्गा कारोबार) एजेन्टका रूपमा कार्यरत छन्।
ओन्टारियोमा एभेरेष्ट ब्रोकेजमा आबद्ध भट्टराईले क्यानडामा दुई खालका घर किनबेच हुने बताए।
एउटा व्यावसायिक प्रयोजन (कमर्सयल) र बस्नको लागि दुवै मिल्ने (रेसिडेन्सयल) हुन्छ भने अर्को बस्ने प्रयोजनका लागि मात्र हुन्छ।
घर किन्नका लागि पहिलो सर्त भनेको क्यानडाको स्थायी आवास अनुमतिपत्र (पिआर) पाएको हुनुपर्छ।
भट्टराईका अनुसार घर किन्नको लागि कम्तीमा २० प्रतिशत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा भएको हुनुपर्छ। कतिपय व्यक्तिको कमाइको आधार हेरेर १० प्रतिशत रकम भए पनि बैंकले घर किन्नका लागि लोन दिन्छ।
'लोन दिने क्रममा व्यक्तिको आर्थिक पारदर्शीताको पनि मूल्यांकन हुन्छ। उसले क्यानडाको नियम अनुसार समयमै कर तिर्ने तथा अन्य बिलहरू समयमै तिरेको छ कि छैन भनेर हेरिन्छ,' उनले भने, 'सबै स्थिति हेरेपछि बैंकले लोन स्वीकृत गर्छ। त्यसपछि २५ देखि ३० वर्षसम्म नियमित रूपमा तिर्ने गरी ऋण पाइन्छ।'
बस्ने र व्यावसायिक प्रयोजनका लागि किन्ने घरका लागि भने फरक प्रावधान छ। त्यस्ता घरका लागि ३३ प्रतिशत लगानी व्यक्ति स्वयमले सुरूमै गर्नु पर्छ। यस्ता घरमा व्यापार/व्यवसाय गर्ने बस्ने दुवै सुविधा हुन्छ।
कसैले घर किन्नुछ भने २ वर्षअघि नै तयारी गर्नुपर्ने भट्टराईले बताए। जस्तो कोही व्यक्तिले २०२७ मा घर किन्नुछ भने अहिलेदेखि बैंकमा आफ्नो तलब जम्मा गर्ने लगायतका काम गर्नुपर्छ।
'यहाँ कोही जमानी बसेका भरमा या भनसुनका आधारमा काम चलाउँछु भन्ने हुँदैन। व्यक्तिको आर्थिक अनुशासन अनि उसले नियमित कर तिरेको छ कि छैन भन्ने महत्वपूर्ण हुन्छ,' उनले भने।
भट्टराईले घर भाडामा खोजिदिने काम समेत गर्छन्। नेपालीका लागि घर भाडामा खोजिदिने क्रममा भने उनले कुनै कमिसन लिँदैनन्। नियम अनुसार आधा महिनाको भाडा कमिसन पाउने भए पनि आफूले नेपालीलाई त्यो शुल्क नलिने उनले बताए। कतिपय अवस्थामा कमिसन आइसकेको रहेछ भने पनि त्यो रकम उनले फिर्ता गर्ने गरेका छन्।

क्यानडामा टाउन हाउस (अपार्टमेन्ट), अलग्गै तर एक आपसमा जोडिएका अनि एक आपसमा नजोडिएका घरहरू गरेर तीन खाले घरहरू हुन्छन्।
'सानो पुँजी हुनेले टाउन हाउस किन्छन्। त्यस्ता घरहरू ४ लाख डलरसम्ममा पाइन्छ। एक आपसमा जोडिएका घरहरू किन्न मन लागेमा ७/८ लाख डलरमा पाइन्छ,' उनले भने, 'अलग्गै रहेका घरहरू किन्न मन लागेमा ९ लाखदेखि १५ लाख डलरसम्म पर्छ। जे होस् ४ लाखदेखि १५ लाख डलरसम्मका घरहरू पाइन्छ।'
अहिले घरजग्गा कारोबार सुस्त रहेकाले यसमा केही तलमाथि हुने भए पनि यही मूल्यको हाराहारीमा घर किन्न पाइने उनले बताए।
घर किन्ने क्रममा आउन सक्ने कतिपय अप्ठेरा पनि छन्। जस्तो कोही व्यक्तिले आफू काम गर्ने ठाउँ अनि कमाइबारे गलत विवरण पेस गरेमा समस्या आउने उनको अनुभव छ। किनकि कतिपय अवस्थामा बैंकले व्यक्तिको विवरण परीक्षण गर्न सक्छ।
कुनै कानुनी प्रावधान उल्लंघन गरेको, अपराधमा संलग्न रहेका व्यक्तिहरूलाई समेत घर किन्न समस्या हुन सक्छ। यद्यपि नेपालीको हकमा त्यस्ता समस्या खासै छैन।
पछिल्लो समयमा आफ्नो क्षमताभन्दा पनि अरूको देखासिकी गरेर घर किन्न खोज्दा समस्या आएको उनको बुझाइ छ।
'पछिल्ला दिनमा नेपालीहरूमा केही समस्या देखिन थालेको छ। घर किन्नका लागि आफू योग्य छु कि छैन भन्नेतर्फ ध्यान दिएको पाइँदैन,' उनले भने, 'हामी रियल स्टेट एजेन्टको पनि केही समस्या छ। घर किन्ने क्षमता नभएकालाई पनि महत्वाकांक्षी बनाइदिन्छौं। यसलाई सुधार्न जरूरी छ।'
क्यानडामा रियल स्टेट एजेन्टभन्दा नेपालमा जस्तो असजिलो मान्न नपर्ने उनले बताए। एजेन्टले नियम अनुसार साढे २ प्रतिशत कमिसन पाउँछ।अनि कमिसनका लागि चाहँर्दै हिँडन पर्दैन।
'मैले नेपालमा छँदा वैकल्पिक ऊर्जा, पस्मिना लगायतका व्यवसाय गरेको थिएँ। रियल स्टेटमा भने साथीहरूसँग रहे पनि सिधै देखिएर काम गरिनँ,' उनले भने, 'यता आइसकेपछि फ्रन्टमै रहेर काम गरेको छु। यहाँ एजेन्टको सम्मानजनक स्थिति छ।'
त्योसँगै उनी बिमा एजेन्ट पनि हुन्। नेपालबाट लामो समयका लागि क्यानडा गएका, छोटो समयका लागि गएकाहरूको उनले जीवन बिमा गर्छन्।ग्रेटवे फाइनान्समा आबद्ध उनले अन्य खालका जीवन बिमा पनि गर्छन्।
अब क्यानेडियन खाना सहितको रेस्टुरेन्ट सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए। ८ जनलाई रोजगारी दिइसकेकाले अब रेस्टुरेन्ट छिट्टै सुरू हुन्छ।
'म आफू पूर्ण रूपमा व्यवसायमा छु। छोराले युनिभर्सिटी अफ टोरन्टोमा अपराध शास्त्र पढ्दैछ भने छोरीले स्कुल पढ्दैछन्,' उनले भने, 'श्रीमती स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। योसँगै अब उनी रेस्टुरेन्ट व्यवसायमा पनि लाग्दैछन्।'