नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) ले युरोपका पोल्याण्ड, साइप्रस, माल्टा लगायत तीब्र रूपमा नेपालीहरु जाने गरेको मुलुकहरूमा कूटनीतिक नियोग स्थापना गर्न नेपाल सरकारसँग माग गरेको छ।
बेल्जियमको आन्टवर्पेनमा सम्पन्न प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो विस्तारित बैठकले सो माग गरेको हो। बैठकमा प्रवासमा बसोबास गरिरहेका नेपालीहरुको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न, संविधान प्रदत्त अधिकार अनुसार विदेशबाट मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र सोका लागि निर्वाचन आयोग तथा नेपाल सरकारसँग माग गरिएको छ।
ओएनएफले लामो समयदेखि युरोपेली मुलुकहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को सिफारिसमा नेपाली वायु सेवा निगम (नेपाल एयरलाइन्स) माथि लगाएको प्रतिबन्ध हटाउन आवश्यक कूटनीतिक पहल गर्न पनि नेपाल सरकारसँग जोडदार माग गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओएनएफ युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा ओएनएफ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा सहितका नेताहरू सहभागी थिए।
बैठकमा ओएनएफको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई सुनिश्चित गर्न आगामी ६ महिनाभित्र कम्तीमा २ अर्ब रुपैयाँको संयुक्त पूँजी संकलन गरी लगानी कम्पनीमार्फत कार्य गर्ने निर्णय पनि गरिएको छ। यसका लागि आवश्यक कागजी तथा प्रक्रियागत काम सम्पन्न गरी योजनाको छनौटसहित कार्य योजनालाई अगाडि बढाइने जानकारी ओएनएफका अध्यक्ष मुक्त गुरुङले दिएका छन्।
उक्त बैठकमा युरोप महादेशका २० देशबाट १५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

