ग्लोबल नेपाली
क्यान्सर रोग विशेषज्ञ डा. विनयकुमार श्रेष्ठ स्विट्जरल्यान्ड गएको २० वर्ष भयो। हाल 'युनिभर्सिटी हस्पिटल अफ बेर्न' मा कार्यरत छन्।
नेपालमा एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक तह) पढाइ पूरा गरेर सन् २००४ मा उनी स्विट्जरल्यान्ड गएका हुन्।
स्विट्जरल्यान्डमा फेलोसिप पाएर चिकित्सासम्बन्धी केही तालिम लिए। भाषा सिके। त्यस क्रममा केही अस्पतालमा काम गर्ने मौका पाए। एक वर्षको फेलोसिप पूरा गरेपछि अवसर खोज्ने वातावरण बन्यो।
उनले त्यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने मौका पाए। शैक्षिक योग्यता पनि बढाए। स्विट्जरल्यान्डको नेसनल मेडिकल बोर्डबाट एमडी तहको पढाइ पूरा गरे।
त्यसपछि ब्रायन युनिभर्सिटीबाट बायो इन्जिनियरिङमा समेत मास्टर्स गरे। उनले रेडिएसन अंकोलोजी र जनरल मेडिसिनको विशेषज्ञता हासिल गरे। सुरूका चार वर्ष त्यहाँका सानाठूला क्लिनिकहरूमा काम गरे। सन् २००८ मा ठूलो अस्पतालमा काम पाए।
हाल उनी युनिभर्सिटी हस्पिटल अफ बेर्नको रेडिएसन अंकोलोजी डिपार्टमेन्टका सिनियर कन्सल्ट्यान्ट हुन्।
'मेरो विशेषज्ञता रेडिएसन अंकोलोजीमा हो। रेडिएसन थेरापीबाट क्यान्सर रोगीको उपचार गर्नु मेरो काम हो,' उनले भने।
जनसंख्या र भूगोल दुवै हिसाबले नेपालको तुलनामा स्विट्जरल्यान्ड दुई तिहाइभन्दा सानो छ। त्यहाँको स्वास्थ्य सेवा विश्वमै गुणस्तरीय मध्येमा मानिन्छ।
डा. विनयका अनुसार स्विट्जरल्यान्डमा प्रत्येक वर्ष क्यान्सरका ४२ हजार जनासम्म नयाँ बिरामी थपिन्छन्। उपचारमा रहेका बिरामी समेत गरी क्यान्सर रोगीको संख्या कम्तीमा एक लाख हुन्छ।
सबै खाले बिरामीको उपचार छिटोछरितो र प्रभावकारी हुन्छ। क्यान्सर रोगको रोकथाम र उपचारको अभियान नै चलाइन्छ। रोग पत्ता लागेपछि उपचार फटाफट अघि बढ्छ।
'बिरामीले प्रमाणमा आधारित गुणस्तरीय उपचार पाउँछन्। स्वास्थ्य बीमा अनिवार्य हुने भएकाले उपचार खर्चको समस्या हुँदैन,' विनयले भने, 'बीमा गर्न नसक्ने रहेछ भने स्थानीय सरकारले गरिदिन्छ। कसैको पनि उपचार रोकिँदैन।'
विनयलाई विदेशमा बसेपछि दोहोरो जिम्मेवारी हुँदो रहेछ भन्ने महसुस भएको छ।
'स्विट्जरल्यान्डमा उच्च अध्ययन गरेँ, त्यहाँका अवसरहरू लिएँ। त्यहाँको भाषा संस्कृतिको जानेँ। जहाँ बस्यो त्यहाँ पनि आफ्नो जिम्मेवारी हुन्छ,' उनले भने, 'जुन ठाउँमा जन्मेँ, हुर्कें, पढेँ, बढेँ, त्यो मातृभमिको माया नलाग्ने कुरै भएन। जिम्मेवारी पनि महसुस हुन्छ। नेपाल मेरो पहिलो घर हो। स्विट्जरल्यान्ड दोस्रो घर।'
विनयसहितको टिमले नेपालमा क्यान्सरका बिरामीको हेरचाह, उपचार र क्यान्सर रोकथामका लागि जनचेतना अभिवृद्धिमा काम गर्ने उद्देश्यका साथ 'स्विस-नेपाल क्यान्सर हस्पिटल प्रोजेक्ट' सुरू गरेको छ।
त्यसका लागि टिमले पोखरामा केही जमिन किनेको छ। थप जमिन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
विनयले विदेशमा रहेका नेपालीहरूमा आफ्नो सीप र ज्ञानबाट मातृभूमिमा केही योगदान गर्ने चाहना देखेका छन्। धेरैमा यस्तो हुटहुटी देखिन्छ। उनको टिम पनि पाँच वर्षअघिदेखि केही आयोजनाहरूमा लागेको छ।
उनले क्यान्सरको उपचारसेवा सर्वसुलभ बनाउन सकिने केही उपायहरू देखेका छन्। आफ्नो अनुभव नेपालको परिवेशमा कसरी उपयोग गर्न सकिएला भनेर अध्ययन गर्दै छन्।
'उपचार कसरी बिरामी केन्द्रित बनाउने भनेर अध्ययनमा लागेको छु,' उनले भने, 'युरोपमा विशेषज्ञको काम देख्ने र बुझ्ने मौका पाएँ। उनीहरूसँग काम गरेँ। अब नेपालमा केही योगदान गर्न चाहन्छु।'
उनको टिम नेपालमा क्यान्सर रोगको उपचार गर्ने अस्पताल चलाउनेमा मात्र होइन, 'कम्प्रिहेन्सिभ क्यान्सर केयर' को अवधारणामा अघि बढेको छ।
यस्तो अवधारणाले समुदायमा क्यान्सर रोकथामका लागि जनचेतना अभिवृद्धिसँगै रोगीको उपचार र हेरचाहको काम गर्नेछ। आर्थिक रूपले पनि उपचार सहज बनाउने उपायहरू अवलम्बन गर्नेछ।
कामका सिलसिलामा उनले नेपालमा केही समस्या अनुभव गरेका छन्। सरकारी संयन्त्रमा धेरै अलमल हुने गरेको देखेका छन्।
भन्छन्, 'प्रशासनिक काम छिटोछरितो बनाउन सके विदेशबाट आएर लगानी र सेवा गर्न चाहनेहरूलाई सजिलो हुने थियो।'
विनयका अनुसार नेताहरूले भाषणमा भनेझैं नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाउन सम्भव छ। नेपालमा संसारकै अग्ला हिमालहरू छन्। तालतलैया छन्। अनुपम प्राकृतिक सौन्दर्य छ। स्विट्जरल्यान्डमा पनि हिमाल छन् तर होचा छन्। नेपालमा जस्तै नदीनाला र तालतलैया छन्।
दुवै देशका हिमाल र प्राकृतिक सौन्दर्य देख्नेहरूले स्विट्जरल्यान्ड भन्दा नेपाल राम्रो भन्ने गरेको उनले सुनेका छन्। नेपाल घुमेका उनका स्विस साथीहरूले प्राकृतिक रूपमा नेपाल धेरै राम्रो छ भन्ने गरेका छन्।
'नेपाललाई स्विट्जरल्यान्ड जस्तो बनाउन सुशासन र विकासमा ध्यान दिनुपर्छ। हामी (नेपाली) यी दुवैमा धेरै पछाडि छौं,' विनय भन्छन्, 'स्विट्जरल्यान्ड जस्तै इमानदारी र समयप्रतिको प्रतिबद्धता चाहिन्छ। भ्रष्टाचार हुनु हुँदैन।'
उनका अनुसार स्विट्जरल्यान्डमा 'स्मल इज द बेस्ट' भन्ने गरिन्छ। 'हाइफाइ' गर्ने प्रवृत्ति छैन। घर पनि साना हुन्छन्। व्यापार पनि सानैबाट सुरू हुन्छ। पहुँचका आधारमा गलत काम गर्ने छुट कसैले पनि पाउँदैन। काम सानो-ठूलो मानिँदैन। श्रमको सम्मान छ। यिनै कारणले स्विट्जरल्यान्ड विकसित र प्रसिद्ध छ।
नेपालमा पनि स्वास्थ्य सेवा सर्वसुलभ बनाउने हो भने स्वास्थ्य बीमा व्यवस्थित गर्नुपर्ने आवश्यकता उनले देखेका छन्। स्वास्थ्य बीमाको अनिवार्यता र उचित व्यवस्थापनले मात्र उपचार सेवा सर्वसुलभ हुन सक्छ।
'स्वास्थ्य बीमाबाट सहज सेवा दिन अस्पताल, चिकित्सक र बिरामी तीनै पक्ष इमानदार हुनुपर्छ। बीमाको रकम आउँछ भनेर जथाभावी परीक्षण गर्नु हुँदैन, गराउनु हुँदैन,' उनी भन्छन्, 'बीमाबाट हुने उपचारमा एक रूपैयाँ पनि तलमाथि हुनु हुँदैन। बीमा दुरूपयोग हुनबाट जोगाउनुपर्छ।'
उनका अनुसार स्वास्थ्य बीमाले ३७ प्रतिशत नेपालीलाई उपचारमा केही सहज बनाएको भए पनि सबै जनतामा पुर्याउन अझै धेरै समय लाग्छ। बीमाले समेट्ने क्षेत्र अझै व्यापक बनाउनुपर्छ। बीमा कार्यक्रम व्यवस्थित बनाउन जरूरी छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]