वडा दसैंको मौका पारेर प्रदर्शनमा आएको विराज भट्ट निर्देशित फिल्म '१२ गाउँ' अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।
आगामी शनिबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म अस्ट्रेलियाभर प्रदर्शन गरिने चलचित्रको प्रदर्शन अधिकार लिएका रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
'नेपालमा जति शो पाएको छ, सबैमा उत्कृष्ट अकुपेन्सीसहित प्रदर्शन भइरहेको यो फिल्मको माग अस्ट्रेलियामा पनि भएकाले हामीले अक्टोबर १९ शनिबारदेखि अस्ट्रेलियामा प्रदर्शन गर्न लागेका हौं,' उनले भने, 'यहाँका दर्शकको उच्च मागलाई हामीले सम्बोधन गरेका हौं।'
सुरूमा सिड्नीबाट सुरू गरेको फिल्मको प्रदर्शन अस्ट्रेलियाको आठै वटा राज्यमा हुने भट्टराईले जानकारी दिए।
'अस्ट्रेलियाको आठै राज्यमा फिल्म लाग्नेछ। त्यहाँका सबै नेपालीले फिल्म हेर्न पाउनुहुनेछ,' उनले भने, 'दर्शकको मागअनुसार शोहरू थप्दै जानेछौं।'
एक्सनप्रधान र सामाजिक विषयबस्तु समेटिएको फिल्ममा '१२ गाउँ' नामक एक प्राचीन गाउँको अत्याचारी शासक विरूद्धको लडाइँको कथा यसमा समेटिएको छ।
'१२ गाउँ' विराजका छोरा समीरको पहिलो फिल्म हो।
मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यू गरेका हुन्।
विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्।
साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका हुन्।
विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन्।
अस्ट्रेलियामा फिल्मको टिकट खरिदका लागि यहाँ https://ticketcart.com.au/events/12-gaun-sydney-premier-show जानुहोला।