यसपालि अस्ट्रेलियामा दसैंको टीका नेपालमा भन्दा एकदिन पछि परेको छ। नेपालमा यही असोज २६ गते अर्थात् अक्टोबर १२ मा दसैंको टीका परेको छ भने यता अस्ट्रेलियामा एकदिन पछि २७ गते अर्थात् अक्टोबर १३ मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत देशका पञ्चाङ्ग (पात्रो) र दसैंको टीकाको साइत सार्वजनिक गर्दै आएको छ।
नेपालमा भने यस वर्षको दसैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यता अस्ट्रेलियामा भने भोलिपल्ट अर्थात् असोज २७ गते आइतबार राज्य अनुसार फरक फरक समयलाई उत्तम साइत राखिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य तथा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका आचार्य डा.देवमणि भट्टराईका अनुसार अस्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीका जमरा ग्रहण गर्नुपर्ने हुन्छ।
‘अस्ट्रेलियाको पात्रो हेर्दा १२ तारिक अर्थात् २६ गते ११ घडी २७ पला छ। ११ बजेर १ मिनेटसम्म नवमी अनि दशमी लाग्छ। भोलिपल्ट ७ घडी ५१ पला छ। अर्थात् ९ बजेर ३३ मिनेटसम्म दशमी तिथि छ। मिलेसम्म अपराह्नव्यापी नमिले सूर्योदय भएको तिथि लिनुपर्छ,’ उनले भने, ‘सूर्योदयकालीन अवस्थाको दशमी तिथि त्यस दिनभरीका लागि कर्म गर्नका लागि उत्तम भएकाले १३ तारिक आइतबार साइत निकालिएको हो।’
उनले यसअघि २०५३ सालमा लगभग २ घडीभन्दा पनि कम समय भएकाले अर्को दिन सूर्योदय भएकै दिन टीको लगाएको प्रमाण रहेको बताए।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत रहेका प्राध्यापक भट्टराईका अनुसार अस्ट्रेलियाको राजधानी क्यानबेरा, मेलवर्न, सिड्नी, एडिलेड, पर्थ, तास्मानिया सहित अमेरिका, क्यानडा, भारत लगायतका विभिन्न सहरका लागि पनि छुट्टाछुट्टै साइत सार्वजनिक भएको छ।
तिथि र टीकाको साइत तोक्दा स्थान विशेषको सूर्योदयको समयलाई समेत आधार मानिन्छ। अहिले अस्ट्रेलियामा नेपालमा भन्दा एक दिनपछि दशमी तिथि पर्नुमा स्थानीय समयको सूर्योदय समयलाई आधार मानिएको भट्टराईले जानकारी दिए।
साइत निकाल्दा सबैभन्दा बढी महत्त्व लग्नको हुने र लग्नकै आधारमा तिथि बन्ने भएकाले यस वर्ष अस्ट्रेलियामा असोज २७ गते अर्थात् अक्टोबर १३ गते आइतबार मात्र उदयकालीन दशमी तिथि परेकोले सोही दिन दसैंको टीका लगाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति माधव भट्टराईले बताए।
उनका अनुसार दसैंको टीका ग्रहण गर्ने समय सूर्योदयकालीन समयको आधारमा तय गरिन्छ।
‘अस्ट्रेलियाकै सूर्योदयको आधारमा हामीले साइत निकालेका हौं। यसमा नेपालका विशेषज्ञहरूको संलग्नता छ। शास्त्रको आधारमा गरेका छौं, त्यसैले कुनै सन्देह नगरिकन भोलिपल्ट नै टीका जमरा लिनुपर्छ,’ उनले भने।
‘नेपाल र अस्ट्रेलियाको समय करिब सवा चार घण्टाको फरक छ,’ उनले भने, ‘आधा घन्टाले त तिथि एकदिन नै अघिपछि हुन्छ भने यसलाई हामीले स्वाभाविक लिनुपर्छ।’
धर्मशास्त्रमा उल्लेख भएअनुरूप नक्षत्र विजया दशमीको कारक नभएको र तिथिपरक आधारले नेपालमा विजया दशमी असोज २६ गते र अस्ट्रेलियामा २७ गते मनाउने निर्णय भएको उनको तर्क छ।
‘उदय भएपछि मात्र त्यो दिन शुद्ध हुन्छ। शुद्ध तिथि हुनका लागि सूर्योदय कालमा हेर्नुपर्छ। त्यसैले अस्ट्रेलियामा भोलिपल्ट पर्छ। तिथि भूमण्डलमा खस्दा हामीले तिथि पर्ने समयलाई हेरेका हौं,’ उनले भने।
सभापति भट्टराईका अनुसार अस्ट्रेलियामा १३ अक्टोबर (असोज २७ गते) को दिन ६ बजेर २४ मिनेटमा सूर्योदय हुन्छ। सूर्योदयपछि ९ बजेर ३३ मिनेट अर्थात् ७ घडी ५१ पलासम्म दशमी तिथि छ। दसैंको टीका दशमी तिथिकै दिन ग्रहण गर्नुपर्ने भएकाले नेपालमा भन्दा एक दिन ढिलो भएको हो।
दसमी तिथिमै देवी विसर्जन हुने र विजया दशमीको टीका जमरालाई दुर्गादेवीको प्रसादको रूपमा लिने भएकाले यसमा अल्मलिनुपर्ने अवस्था नहुने उनले दाबी गरे।
अस्ट्रेलियामा हिन्दु धर्म, संस्कृति र परम्पराअनुसार धार्मिक गतिविधिमा सहजीकरण गर्दै आएको नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित प्रकाश ढोडारीले चाडपर्वको तिथिमिति धार्मिक र ज्योतिषीय निर्णय अनुसार हुने बताए।
'सूर्य र चन्द्रमाका आधारमा तिथि बन्छन्। सूर्य र चन्द्रमा पश्चिमबाट पूर्वतर्फ गइरहेका हुन्छन् भने पृथ्वीमा रहेकाहरू पश्चिमबाट पूर्व गइरहन्छन्। यसले गर्दा भूगोलका आधारमा स्थानीय समयलाई आधार मान्दा अस्ट्रेलिया र नेपालमा यसपटक दसैको साइत फरक परेको हो,’ उनले भने।
ज्योतिष विज्ञहरूले आपसमा परामर्श र छलफलपछि साइत निर्धारण गर्छन्। विजया दशमी आफैमा शुभ दिन मानिन्छ। तर त्यसदिनमा पनि सबभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।
राज्य अनुसार दसैंको टीकाको उत्तम साइत यस्तो छ।
सिड्नी -११:२१
क्यानवेरा- ११:१५
मेलबर्न- ११:२७
ब्रिसवेन-११:२७
एडिलेड-११:४५
तास्मानिया - ११:२१
डार्बिन- ११:११
पर्थ - ११:२१