गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले स्थापना गरेको एनआरएन अस्ट्रेलिया फाउन्डेसनले अस्ट्रेलियन च्यारिटी एण्ड ननफर प्रोफिट कमिसन (एसिएनसी) बाट मान्यता पाएको छ।
संस्थाले डिडक्टेबल गिफ्ट रेसिपियन्ट मान्यता समेत प्राप्त गरेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए।
संस्थाले डिडक्टेबल गिफ्ट रेसिपियन्ट मान्यता समेत प्राप्त गरेसॅंगै संस्थालाई दिइने कुनै पनि चन्दा या सहयोग अब करकट्टा गर्न सकिनेछ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष पोखरेलले एनआरएन अस्ट्रेलिया फाउन्डेसनलाई कुनै पनि व्यक्ति या संस्थाले दिएको चन्दा त्यस्ता व्यक्ति वा संस्थाले आफ्नो वार्षिक ट्याक्स रिटर्नमा फिर्ताका लागि दाबी गर्न पाउने बताए।
कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष पोखरेलले आफ्नो कार्यकाल सुरू भएपछिको पहिलो बैठकमा गरिएको निर्णय यति छिट्टै दर्ताको प्रक्रियाबाट मान्यता प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गरे।
उनले यस कार्यको सुरूआत गर्ने यसअघिका सबै अग्रजहरूलाई धन्यवाद दिँदै आगामी दिनमा कार्यविधि बनाएर यसको संरचना निर्माण गरिने जानकारी दिए।
‘चार, पाँच महिना लाग्छ होला। हामी एउटा संरचना निर्माण गर्नेछौं जसले यस फाउन्डेसनलाई सञ्चालन गर्छ,’ उनले भने, ‘यो एनआरएन अस्ट्रेलिया अन्तर्गतभन्दा पनि सम्बन्धित तर छुट्टै स्वायत्त निकाय हुनेछ। यसले अस्ट्रेलियामा बस्ने नेपाली मूलका मात्र नभएर सबै समुदायका लागि च्यारिटीको काम गर्नेछ।’
उनले हाल दर्ता प्रयोजनका लागि एनआरएन अस्ट्रेलिया फाउन्डेसनमा तीन जना बोर्ड मेम्बर रहेको र समूदायसँगको बृहत् अन्तर्क्रियापछि यसलाई छिट्टै पूर्णता दिइने धारणा राखे।
उनले संस्थाको कार्यसमिति चार वर्षको हुनसक्ने संकेत पनि गरे।
कार्यक्रमा एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव कँडेल, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, पूर्वउपाध्यक्ष नवीन पन्त र संस्थापक अध्यक्ष मन केसीले अस्ट्रेलियाको नेपाली समूदायको लागि यो एउटा ऐतिहासिक कदम मात्र नभएर विश्वकै एनआरएन अभियानलाई पनि अघि बढ्ने बाटो देखाउने कार्य भएको धारणा राखे।
एनआरएन आइसिसीका उपाध्यक्ष विनोद श्रेष्ठले चार वर्षको कार्यकाल राखेर जाँदा कतै एनआरएन अस्ट्रेलिया र फाउन्डेसन अलग अलग हो भन्ने धारणा विकास हुने हो कि सचेत बन्नुपर्ने बताएका थिए।