अस्ट्रेलियाका केही सहरमा नेपाल सरकारबाट नियुक्ति गरिने वाणिज्यदूतहरू करिब पाँच महिनादेखि रिक्त छन्।
करिब एक लाख नेपाली बसोबास गर्ने सिड्नी अर्थात् न्यू साउथवेल्स राज्यमा महावाणिज्यदूत दिपक खड्काले राजीनामा दिएको करिब पाँच महिना बित्न लागिसकेको छ।
करिब एक लाख नेपालीलाई सेवा प्रदान गर्ने महावाणिज्य दूतावास एक्कासि बन्द हुँदा यहाँका हजारौं नेपाली विद्यार्थीदेखि स्थानीयहरूलाई समेत मर्का पर्न थालेको छ।
प्रवेशाज्ञा लगायतका विविध सेवा प्रदान गर्दै आएको महावाणिज्य दूतावास बन्द हुँदा पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयले ध्यान पुर्याउन नसकेको गुनासो आउन थालेको छ।
नेपाल सरकारले विदेशमा रहेका महावाणिज्यदूतहरूलाई वाणिज्यदूतमा सीमित पार्ने निर्णय गरेता पनि अस्ट्रेलियाका केही राज्यहरूमा नियुक्तमा ढिलाइलाई राजनीतिक चलखेलका परिणामका रूपमा लिइएको छ।
यसअघि पछिल्लो सरकारका परराष्ट्रमन्त्री एनपी साउदले निर्णय प्रक्रियामा ढिलाइ गरे पनि अहिलेको सरकारले प्रक्रिया पुगेकाहरूको समेत नियुक्त रोकिँदा सेवाग्राही मारमा परेका छन्।
करिब पचास हजारभन्दा बढी नेपाली विद्यार्थी बसोबास गर्ने सिड्नीमा नेपाली विद्यार्थीहरू सानातिना सरकारी कामका लागि पनि दुई दिन छुट्टाएर राजधानी क्यानबेरा जानुपर्ने बाध्यता भएको छ।
सामान्यता एउटा कागजात बनाउन क्यानबेरा पुग्दा समय र पैसाको हिसाबले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको नेपाली विद्यार्थी आयुष खतिवडा बताउँछन्।
एउटा लाइसेन्सको भेरिफिकेसन गर्न क्यानबेरा पुग्नुपर्ने दुखद् विषय भएको उनको कथन थियो।
‘नेपालीलाई मर्दापर्दा आवश्यक पर्ने सरकारी निकायको अनुपस्थिति आफैमा दुखदायी कुरा हो,’ उनको भनाइ थियो।
राजधानी क्यानबेरा सिड्नीबाट करिब तीन सय किलोमिटरको दूरीमा छ। त्यति मात्र होइन पछिल्लो दुई महिनामा तीन नेपाली विद्यार्थीहरूको विविध कारण मृत्यु हुँदा समेत महावाणिज्य दूतावासको टड्कारो खाँचो देखियो ।
‘अस्ट्रेलियाको राजधानी क्यानबेरा पासपोर्टको समस्याले पिरोलिरहेको बेला सिड्नीजस्तो महत्वपूर्ण स्थानको वाणिज्यदूतमा निर्णय हुन नसक्नु दुखद् विषय हो,’ एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल बताउँछन्।
पर्यटकको भिसा र हजारौं विद्यार्थीहरू यसबाट प्रभावित भएका छन्।
‘राज्यले चाँडोभन्दा चाँडो उपयुक्त र सामाजिक क्षेत्रमा उच्च छवि बनाएका नेपालीलाई यस्तो महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ। यो अवैतानिक पद भएकोले यसमा तेरो र मेरो भन्दा पनि विवादमा नमुछिएका र विशुद्ध सामाजिक छवि बनाएका व्यक्तित्व रोजिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अध्यक्ष पोखरेलले भने,‘अहिले महावाणिज्यदूत नहुँदा एनआरएनमा समस्याहरू ठोक्किने गरेका छन्।’
यसैगरी मेलवर्न (भिक्टोरिया) पनि लामो समयदेखि अनिर्णयको बन्दी बनेको छ। यस बाहेक क्विन्सल्यान्ड, पश्चिम अस्ट्रेलियामा त नेपाल सरकारले नेपाली नै भेटेको छैन जस्तो आभास भएको छ। क्वीन्सल्यान्डमा पन्ध्र हजार र पर्थ क्षेत्रमा १२ हजारभन्दा बढी नेपाली बसोबास गर्छन्।
करिब चार कार्यकाल न्यू साउथवेल्सका महावाणिज्यदूत रहेका दीपक खड्का यो पद हेर्दा सम्मानजनक भएता पनि महत्वपूर्ण जिम्मेवारी तथा आर्थिक हिसाबमा निकै चुनौतीपूर्ण भएको स्वीकार्छन्।
‘कार्यालय कर्मचारी र समयका हिसाबले यसको लेखाजोखा हुँदैन। त्यसमाथि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी भएकोले सरकारी निकायसँगको आपसी सम्बन्ध प्रगाढ बनाउने र समन्वयकारी भूमिका निभाउन निकै कठिन हुन्छ। यसैले यस्ता जिम्मेवारीमा कसैलाई नियुक्ति गर्दैगर्दा राज्यले मुलुकको पहिचानको ख्याल राख्नुपर्ने हुन्छ,’ खड्का भन्छन्।
उनले अगाडि भने, ‘लगभग नेपालको एउटा सानो जिल्ला जत्रो नेपाली जनसंख्या रहेको सिड्नीमा अब राज्यले राजदूतावासको कर्मचारी सहितको वाणिज्य दूतावास सञ्चालन गर्नुपर्दछ! जति चाँडै र सहज आवश्यक सेवा प्रदान गर्न सक्यो त्यो नै राज्यको महत्वपूर्ण पहिचान पनि हो।’
यताको नेपाली समाजमा जसले राजनीतिभन्दा माथि उठेर मुलुकको हितमा काम गर्न सक्छ र सबैखाले नेपाली समाजलाई एकताको सुत्रमा बाँध्ने र सहयोग गर्ने काम गर्दछ त्यस्तो व्यक्ति अबको वाणिज्यदूत नियुक्त हुनुपर्ने सिड्नीका युवा अभियन्ता तथा एनआरएनका कोषाध्यक्ष अर्जुन गौतम बताउँछन्।
‘हजारौं विद्यार्थीहरू प्रभावित भएका छन्, एक घन्टामा हुने कामलाई दिनभरको यात्रा लगाएर राजधानी क्यानबेरा पुग्नुपरेको छ, यस्तो अवस्थामा पनि यस्तो महत्वपूर्ण पदहरू नियुक्तमा के कारण ढिलाइ भएको हो बुझ्न सकिएको छैन,’ गौतम सुनाउँछन्।