अष्ट्रेलियाको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिबल आयोजना हुने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा फेस्टिबल हुन लागेको हो।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले पत्रकार सम्मेलन गर्दै महोत्सवलाई भव्य र सभ्य रूपले सम्पन्न गर्न एडिलेड र त्यसको वरिपरि बसोबास गर्ने नेपाली सामाजिक संस्थाहरू र समुदायको भूमिका महत्वपूर्ण हुने बताइन्।
एनआरएनए अष्ट्रेलियाले नेपाली भाषा, कला, संस्कृतिको पहिचान प्रदर्शन गर्दै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक दुई दुई वर्षमा अष्ट्रेलियाका प्राय: सबै राज्यमा नेपाल फेस्टिबलको आयोजना गर्दै आएको छ।
आगामी मार्च १८ तारिख बिहान ९:३० बजे एडिलेडको स्थानीय रन्डल महलबाट नेपाली झाँकीसहितको पदयात्रा हुनेछ। त्यसैगरी साँझ ९ बजे 'यो मन त मेरो नेपाली हो' नेपाली गीतको संगीतमा आतसबाजी हुने कार्यक्रम छ।
महोत्सवका बारेमा कुरा गर्दै संयोजक लामाले महोत्सवमा साना ठूला गरी ४० वटा स्टल राखिने बताइन्।
‘जसमा नेपाली खानाका परिकार एवं शैक्षिक परामर्शदाताका स्टलहरू रहनेछन्’, उनले भनिन्।
साउथ अस्ट्रेलियामा नेपालीहरूको संख्या बढेसँगै नेपाली समुदायका कार्यक्रम र गतिविधि बढ्दै गएका छन्। महोत्सवमा गरिने सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट प्रिति आले, प्रकाश सपुतलगायत कलाकारहरू आउनेछन्।