समय र परिस्थितिले मानिसलाई कहाँ पुर्याउँछ कसलाई के थाहा ?
क्यानबेरामा अप्रिल ९ देखि १४ सम्म आयोजना हुन लागेको द वर्ल्डकप चेस प्रतियोगितामा भाग लिन नेपालबाट अस्ट्रेलिया आइपुगेका दुई खेलाडी यतिखेर सिड्नीको एक होटलमा सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य भएका छन्।
विदेश घुमुला अनि चेस खेलेर देशको नाम राखुँला भनेर आफ्नै खर्चमा अस्ट्रेलिया आइपुगेका चेस खेलाडी मदनकृष्ण कायस्थ र राजन दाहाल यतिखेर सिड्नीको आइबिज बजेट होटलमा 'हाइ-हाइ' काट्दै दिन गनिरहेका छन्।
होटलबाटै उनीहरूले प्रतियोगिता स्थगित भएको खबर त पाइसकेका छन तर लकडाउनले गर्दा न कतै जान पाइरहेका छन् नै देश फर्किन।
'अप्रिल १६ को हवाइ टिकट छ तर त्यतिजेन्लसम्म टिक्ने समस्या पनि उत्तिकै छ। आफन्त र साथीभाइका बस्ने र केही दिन घुमेर फर्कौला भन्ने चाहना पूरा हुने देखिएको छैन,’ कायस्थले भने,‘कोरोनाले आफन्त पनि तर्सिएकाले उनीहरूकोमा जाने अवस्था पनि छैन। ल्याएको पैसा होटल बसाइँमा सकिन लागिसक्यो।'
कायस्थले आफूहरूले यसबारेमा राजदूतावास र एनआरएनलाई जानकारी गराएको भए पनि जवाफ पाइनसकेको बताए।
'हाम्रो सेल्फ क्वारेन्टाइनको समय सीमा सकिन लागेको छ भोलिदेखि कतै साथीभाइ र आफन्त गुहार्ने चरणमा छौं', कायस्थले भने, 'देश फिर्ने कुरामा नेपाल सरकारले अझै कुनै ठोस निर्णय लिइसकेको अवस्था छैन,हामीलाई यो प्रतियोगिता खेल्न नपाइ नराम्ररी हारेको अनुभव भएको छ।'
'खेल्न पाएको भए नतिजा राम्रो आउँथ्यो होला तर प्रतियोगिता स्थगित हुनु,सबैतिर बन्द हुनु र सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानले हाम्रो बजेट तहसनहस बनाइदियो अब के गर्ने? भन्ने चिन्ताले सताएको छ',अर्का खेलाडी राजन दाहालले भने।
यसैगरी, पर्थमा साँस्कृतिक कार्यक्रम देखाउन आएको गायक उर्गेन लामाको समूह पनि सिड्नीमै अड्केको छ।
पर्थमा कार्यक्रम सकेर सिड्नी हुँदै नेपाल फर्कने क्रममा लकडाउन भएपछि यो दुई जनाको सांगीतिक समूह यतै थन्किएको हो।
'मेरो त भिसा पनि आज मार्च ३० सम्म छ, थप्नको लागि आयोजकलाई डकुमेन्ट पठाएको छु, हेरौं अवस्था कस्तो हुने हो', उर्गेनले भने।
उनले हालका लागि समस्या नभए पनि र भिसाले समस्या पार्ने चिन्ता व्यक्त गरे।
यस्तै, नेपाल क्रिकेट संघ,बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारी आफ्नो पारिवारिक भ्रमणका लागि अस्ट्रेलिया आएको केही हप्ता भयो।
उनको अप्रिलको दोस्रो साता नेपाल फर्किने टिकट छ।
लकडाउनका कारण अनिल यतिखेर टिकट रद्द गर्ने कि दुई हप्ता कुर्ने भन्ने द्विविधामा छन्।
नेपालले लकडाउनको समयावधि बढाएपछि विदेशमा रहेका नेपालीहरूमा छटपटी बढेको अनिल बताउँछन्।
'संसारका सबै देशले आफ्ना नागरिकलाई स्वदेश फर्क र सुरक्षित रहौं भनेर अपिल गरिरहेको बेला हाम्रो देश भने विदेशमा रहेका आफ्ना नागरिकलाई देश आउन प्रतिबन्ध लगाएर बसेको छ, कस्तो नीति होला राज्यको?' अनिलको प्रश्न छ।
यतिखेर अस्ट्रेलियन सरकारले आफ्ना नागरिक र स्थायी बासिन्दालाई नेपालबाट फर्काउन नेपाल एअरलाइन्सको विमान चार्टर्ड गरेर मंगलबार सिडनी ल्याउँदैछ, तर सो विमानमा समेत फर्कने चाहने नेपालीलाई फिर्ने सुविधा नेपाल सरकारले दिएको छैन। यस्तो बिडम्बना कतै हुन्छ?' अनिल आक्रोश व्यक्त गर्छन्।