भनिन्छ, समय बलवान हुन्छ। यतिखेर आणविक हतियारभन्दा खतरनाक एउटा रोगका कारण विश्व त्रासमा छ, अनि औषधिको खोजीमा। मानवले सृष्टिसँगै कयौं दृष्टि बनाए, त्यसलाई प्रयोगशालामा खन्याए र घातक बम बारुद बनाए।
तर यतिखेर संसारभरकै मानवजाति एउटा रोगको महामारी चपेटाबाट मुक्ति पाउन विभिन्न प्रयास गर्दैछ, तर सकिरहेको छैन। कारणः यो सरूवा रोग हतियारभन्दा बलियो मानवीय त्रासको रुपमा संसारमा देखापरेको छ। यसले धेरै शक्तिशाली देशलाई थला पारिसकेको छ भने कयौं महाशक्ति योसँग पैंठेजोरी खेल्न व्यस्त छन्।
हतियार र बम बारुदसँग नडराउनेहरु यतिबेला घरबाट बाहिर निस्कन डराइरहेका छन्। आखिर समय यस्तो पनि आउँदो रहेछ, जहाँ भीमकाय शक्तिले पनि वायुमा मिसिएको स–सना कणसँग आत्मरक्षाका लागि चित्कार गर्नुपर्दो रहेछ। यो आणविक बमका रुपमा चर्चा पाएको एटम बमभन्दा शक्तिशाली कोरोना बमको रुपमा चिनिएको छ।
यतिखेर कोरोना नामक भाइरस संसारको खतरनाक हतियार बनेको छ। इटालीले आफ्नो शक्ति हारेको र कोरोनाले जितेको भन्दै वृद्धवृद्धाको रक्षा गर्न असमर्थता स्वीकारेको छ। अब स्पेन र जर्मनी यसको सिकार हुँदैछन्, अनि संसारकै शक्तिशाली मानिएको बेलायत यसको डरले जनतालाई घरभित्र थुन्न बाध्य छ।
संसारकै शक्तिशाली राष्ट्र अमेरिकालाई पनि कोरोनाले आक्रमण गरिसकेको अवस्था छ। तर यस महामारीबाट बच्ने संघर्षमा ट्रम्प हारगुहार अनि आरोप प्रत्यारोपमा उत्रिएका छन्। उनको आरोप छ– यो चिनियाँ फन्डा हो। तर संसारकै शक्तिशाली राष्ट्रपतिसँग पनि योसँग लड्ने हतियार भने छैन।
यसको अर्थ विश्वको वातावरणमा अब नयाँ हतियार जन्मन थालेका छन्, जोसँग मुकाबिला गर्न कुनै एटम बम र मिसाइलले सक्ने छैन।
कोरोना पनि कुनै जीवजन्तुको नकारात्मक समिश्रणबाट उत्पन्न खराब भाइरस हो, जसले विश्वलाई नै एक पटक हल्लाइदिएको छ। तीव्र सरुवा अनि खतरनाक भाइरसका रुपमा यसको उद्गम चीनबाट भएको देखिएपनि अहिले युरोप यसको चपेटामा परिसकेको छ।
अमेरिका, अष्टे«लिया अनि विस्तारै एसियामा पनि तीव्र रुपमा फैलिएको कोरोनाका कारण कयौं मुलुकहरु आर्थिक रुपमा समेत धरासयी हुने देखिएको छ।
यतिखेर संसारभर छरिएर रहेका मानिसको जीवनमै एक्कासी ब्रेक लागेको छ, अनि जीवनशैलीमा परिवर्तन आएको छ। काम गर्नुपर्ने मान्छे डरले घरमा बस्न थालेका छन्।
पैसा छ, तर बजारमा सामान छैन। अनि धन दौलतले पनि मानिसलाई पूर्ण बनाउन सकेको छैन। त्रासदी पनि छ, मिलेर आपसमा बस्न सकेका छैनन्, शंका पनि उत्तिकै छ। एक जनाले हाछ्यु गर्दा पन्ध्र जना तर्सिन्छन् र भाग्छन्। लाग्छ गोली बारुद नै पड्केको हो। अनि कसैले खोक्यो भने छेउछाउका मानिस ज्यान जान्छ कि भनेझैं गर्छन्।
आखिर मेरो र तेरो, बलियो अनि कमजोर, सीमा मिच्नेदेखि रेखा खिच्नेसम्मका कर्तुत केका लागि? जाबो एउटा कोरोना भाइरस त सबै शक्तिशाली राष्ट्रका लागि जीवन मरणको संकट बन्न सक्छ भने हाम्रा औकातको सीमालाई बम बारुदले निर्धारण गर्न मिल्ला त?
देशले आफ्नै सीमा बन्द गरेका छन् अनि राज्यले आफ्नै नागरिकलाई समेत बन्धक बनाउन बाध्य पारेका छन्। हस्पिटलहरु भरिएका छन्, भेन्टिलेटर अपुग छन्, अनि सेनिटाइजर र ट्वाइलेट पेपरमै लडाइ छ। कस्तो प्रलय, लड्नुपर्ने कौडीका सामानका लागि।
मानिसको शैली बदलिन थालेको छ, मानिससँग मानिस डराउन थालेका छन्। नियती र भोगाईमा शंकाले घर बनाएको छ। समाज असमाजिक बन्दै गएको छ, विवाहमा उत्सव र मृत्युमा समवेदना दिन समेत कठिन बनेको अवस्था छ। लक डाउनको समय लर्को बढ्दैछ, बिरामी आमाको उपचार र मरेका बाउको काजक्रिया गर्न समेत नसकेका समाचार आउन थालेका छन्। यो कस्तो प्रलय हो, जसले विश्वलाई बैमौसमी विरामी बनाएको छ।
अब संसारले थुप्रै कोरोनाका विश्वयुद्ध लड्नुपर्ने छ, जसको सन्देश हुने छ– मानवता र एकता। यतिखेर संसारभर मानवीय संवेदनाको विषयले महत्व पाएको छ, बाल बच्चा, वृद्धवृद्धा अनि औषधि उपचार र अभाव अनि प्रभावका। लडाइ, झगडा, मारामार र दंगाहिंसाको कुनै नामोनिशान नै छैन, मात्र करुणा र संवेदनाका यत्रतत्र समाचार सुनिन्छन्।
एउटा भाइरस यति शक्तिशाली निस्कियो, जसले ट्रम्पको घमण्ड र मोदीको ‘पाखण्ड’, पुटीनको फूर्ति र सीको घुर्की सबैलाई सिलटिमुर खुवाइदियो! यो भन्दा बाँकी रह्यो नै के र।