अष्ट्रेलियन संघीय सरकारले आगामी ४८ घण्टाभित्र राज्यका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न प्रधानमन्त्री स्कट मोरिसनले अत्यावश्यक बाहेकका सेवा बन्द गरिने घोषणा गरेका हुन्।
सोमबार अपरान्हदेखि लागू हुने उक्त नियमले देशभरका पब, क्लब, खेलकूद, धार्मिक केन्द्र, सिनेमाघर, मनोरन्जनस्थल लगायत सेवा बन्द हुनेछन्।
प्रधानमन्त्रीले एनएसडब्लु लगायत अन्य केही राज्यका स्कूलहरु बन्द नहुने बताएका छन्, तर भिक्टोरिया सरकारले भने मंगलबारदेखि राज्यका स्कूलहरुमा बिदा दिने निर्णय गरिसकेको छ। रेष्टुरेन्ट र क्याफेहरु ‘टेक अवे’को लागि मात्र खोल्न सकिने प्रावधान सरकाले ल्याएको छ।
आइतबार राति सम्पन्न संघीय, राज्य र प्रादेशिक सरकारबीचको मन्त्रीस्तरीय बैठकपछि प्रधानमन्त्री मोरिसनले उक्त घोषणा गरेका हुन्।
यस अवधिमा अत्यावश्यक सेवाहरुको सुचीमा पेट्रोल स्टेसन, सुपर मार्केट र औषधि पसल, खाना डेलिभरी गर्ने संस्था पर्ने छन्। त्यसबाहेक राज्यका सबै निकायहरु ठप्प हुने छन्।
यस्तै अस्ट्रेलियन सरकारले यस महामारीबाट देशको अर्थतन्त्रलाई कमजोर बन्न नदिन्न करिब १४ अर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ। दोस्रो चरणमा थप ६६.१ अर्ब डलरको सहायता प्याकेज ल्याएको छ।
अष्ट्रेलियाली अर्थतन्त्रमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको हो। जागिर गुमाएकाहरुलाई राहत दिन र बिग्रदो व्यवसायहरुलाई जीवन्त राख्न अर्थमन्त्री जोश फ्राईडेनबर्गले यो सहायता प्याकेजको घोषणा गरिएको बताए।
सरकारको आर्थिक सहायता प्याकेज
ज्यालादारी ,सेवानिवृत्त भएका र काम नपाएका र यसअघि नै भत्ता पाउँदै आएकाले यस राहत कोषबाट थप आर्थिक सहयोग पाउने भएका छन्। यस्तै व्यवसायलाई जीवन्त राख्न आर्थिक सहायता प्रदान गरिनेछ।
यस सहायता अन्तर्गत अभिभावक भत्ता, बेरोजगार भत्ता, युवा बेरोजगार भत्ता, कृषक भत्ता र अन्य विशेष भत्ता पाउनेहरुका लागि प्रत्येक दुई हप्तामा थप ५५० डलर प्रदान गरिने भएको छ। यस्तै काम गुमाएका पुष्टि हुने दैनिक ज्यालादारी र एकल व्यवसायीलाई पनि सहायक भत्ता दिइने भएको छ। हाल बेरोजगार भत्ता पाउनेहरुले प्रत्येक दुई हप्तामा १,१०० डलरसम्म पाउन सक्ने छन्।
आगामी छ महिना सम्मको लागि मात्र प्रदान गरिने यो आर्थिक सुविधा हाल पाउने भत्ता सुविधामा थप गरिएको हो।
सामाजिक भत्ता ,पुर्व सैनिक भत्ता र अन्य सहुलियत कार्ड रहेकाहरुका लागि गत प्याकेजमा घोषणा गरिएको ७ सय ५० डलरको आर्थिक सहायतालाई डबल पारिने भएको छ। पेन्सनसरहकालाई मध्यनजर गरेर यो सहयाता रकम डबल पारिएको हो। यस्तै यस रोगका कारण आर्थिक संकटमा परेकालाई सुपरएनुएसन झिक्ने अनुमति समेत दिइने भएको छ।
कोरोनाभाइरसका कारण आर्थिक संकटमा परेका अष्टे«लियालीलाई प्रत्येक आर्थिक वर्षमा १० हजार डलर आफ्नो सुपरएनुएशन बचतबाट प्रयोग गर्न सक्ने नियम बनाइने भएको छ।