उच्च अध्ययनका लागि नेपालबाट अस्ट्रेलिया आएर कोरोनाभाइरसको समस्याबाट प्रभावित नेपाली विद्यार्थीलाई गैर-आवासीय नेपाली संघले नि:शुल्क भोजनको व्यवस्था गर्ने भएको छ।
गैर-आवासीय नेपाली संघको बिहीबार बसेको आकस्मिक बैठक बसेर अस्ट्रेलियाभर छरिएर रहेका नेपाली विद्यार्थीको हितका लागि यस्तो निर्णय गरिएको संघका प्रवक्ता नन्द गुरुङले बताए।
उनले भने, ‘विद्यार्थीको हकमा तीस दिनसम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रबन्ध गर्ने र आवश्यक परेको खण्डमा अन्य अत्यावश्यक विषयमा पनि सहयोग गर्ने निर्णय भएको छ।’
पछिल्ला दिनहरूमा अस्ट्रेलियाले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने नीति बनाएपछि अध्ययनका लागि अस्ट्रेलिया आएका कयैन् विद्यार्थीलाई समस्या हुने गरेको छ।
हाल आवत जावतमै प्रतिबन्ध लगाइएको भए पनि केही दिन अघिसम्म नेपाली विद्यार्थी अस्ट्रेलिया आउने क्रम जारी रहेको थियो।
एनआरएनको कल्याणकारी योजना अनुरूप मुख्यत: विद्यार्थी र उनीहरूका समस्यालाई ध्यानमा राखेर खानपिनको व्यवस्थापन गरिन लागेको एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए। ‘हामीले यसका लागि विभिन्न राज्यमा राज्य समितिमार्फत् हट लाइन नम्बर प्रदान गरेर विद्यार्थी र उनका समस्यालाई सम्बोधन गरी सहयोगको वातावरण बनाउने प्रयास गरेका छौं, महासचिव रेग्मीले भने।
‘नेपालबाट अस्ट्रेलिया आइपुगेका कयैन् विद्यार्थीले कोठा र काम समेत नपाउने अवस्था रहेको र त्यसमाथि दुई हप्ता क्वारेन्टाइनमा बस्नु पर्ने बाध्यताले धेरै समस्यामा परेका सुनेका छौं, संघका अध्यक्ष केशव कडेंलले भने, ‘यसै कारण पनि उनीहरूलाई सानो भए पनि खानपिनमा सहयोग गर्न सकियो भने महत्वपूर्ण हुन सक्छ भन्ने हाम्रो आसय हो।’
कोरोना र आइसोलेसनमा बसेका मात्र होइन यसबाट प्रभावित अन्यलाई पनि सहयोग गर्ने विषयमा छलफल गर्न सकिने अध्यक्ष कँडेलले बताए।