अष्ट्रेलियन प्रधानमन्त्री स्कट मरिसनले बिहीबार यहाँका पिआर र नागरिक बाहेक अन्य सबैलाई अष्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।
बुधबारदेखि उनले आफ्ना नागरिकलाई अन्य देश जानबाट रोक लगाएका छन्।
निकै आश्चर्यका रुपमा लिइएको अष्ट्रेलियन सरकारको यो निर्णयपछि अब यहाँका नागरिक, पिआर होल्डर अनि तिनका नजिकका नातेदारले मात्र अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्।
अष्ट्रेलिया प्रवेश पाएकाको हकमा पनि उनीहरू सबैले सेल्फ आइसोलेसनमा १४ दिन अनिवार्य बस्नुपर्ने छ।
‘नागरिकलाई कोरोना संक्रमणबाट बचाउन थप उचित कदम लिने बेला आइसकेको छ, त्यसैले अब नागरिक, स्थायी रूपमा बसोबास गर्ने मानिस वा तिनका नजिकका परिवारबाहेक अन्यलाई आउन दिने छैनौँ,’ मरिसनले राजधानी क्यानबेरामा पत्रकार सम्मेलनमा भने।
कोरोना भाइरसले अष्ट्रेलियामा तीव्र रुप लिन थालेपछि सरकारले कडा कदमका रुपमा पछिल्लो निर्णय गरेको हो। यो निर्णयका कारण कतिपय पेशाकर्मीहरू यतिखेर संकटमा परेका छन्, यहाँको शेयर कारोबार निकै तल खस्केको छ। तेलको मूल्यमा भारी गिरावट आएको छ भने अन्तर्राष्ट्रिय बजारमा अष्ट्रेलियम डलरको मूल्य समेत घटेको छ।
प्रधानमन्त्री स्कट मरिसनको घोषणाभन्दा केही घन्टाअघि मात्र न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले पनि विदेशी नागरिकलाई आज मध्यरातदेखि लागू हुने गरी प्रवेशमा रोक लगाएकी छिन्।
यसअघि चिनियाँ, इरानी, इटालियन र दक्षिण कोरियाली नागरिकलाई मात्र अष्ट्रेलिया प्रवेशमा बन्देज लगाइएको थियो। ‘हामीले लिएका निर्णयहरूले अवश्य धेरैलाई प्रभाव पारेको छ तर यो कदम मुलुकको हितका लागि आवश्यक रहेकोले छोटो अवधिका लागि गरिएको हो, जुन फेरि परिष्कृत गर्न सकिनेछ’ प्रधानमन्त्री मरिसनले भने।
अष्ट्रेलियामा हालसम्म देखिएका कोरोनाका पाँच सय ६५ सक्रमण मध्ये करिब ८० प्रतिशत बाहिरबाट आएका मानिसहरू र तिनका संसर्गमा रहेका मानिसहरूमा रहेको जनाइएको छ।