१९७८ मा स्थापना भएको क्यानबेराको स्थानीय सिसिएससी लिगमा क्यानबेरा नेप्लिज क्रिकेट क्लब (सिएनसिसी) ले ग्रेड २ को उपाधि चुमेको छ।
सहभागिताको चौथो वर्षमै उसले ग्रेड २ मा बलिया प्रतिद्वन्द्वीलाई पाखा लगाउदै उपाधि हात पारेको हो। स्थापना काल देखिनै विभिन्न प्रतियोगितामा सहभागिता जनाएपनि सिएनसीसीको यो पहिलो उपाधि हो। उसले फाइनलमा लायन्सलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
शनिबार क्यानबेरामा सम्पन्न फाइनलमा टस जितेर ब्याटिङ रोजेको सिएनसिसीले निर्धारित ४५ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ९७ रन बनाएको थियो। कप्तान प्रेम चौधरी र सहिल श्रेष्ठले संयमित सुरुआत गरेका थिए। प्रेम १९ रन बनाई क्याच आउट भए भने सहिलले ५४ रन को महत्वपुर्ण पारी खेलेका थिए।
उपकप्तान आशिष देवकोटाले विष्फोटक ब्याटिङ गर्दै ४३ रन बनाए। अन्य खेलाडीहरूमा प्रशान्त बिष्टले २४ रन र सफल घिमिरेले २३ रन जोडे।
जवाफमा दोस्रो ब्याटिङ गर्न आएको लायन्स क्रिकेट क्लबले सिएनसिसीको कसिलो बलिङ र फूर्तिलो फिल्डिङको जवाफ दिन नसक्दा ३८ ओभरमा अल आउट हुँदै एक सय ३ रनमा सीमित भयो।
आफ्नो इनिङको पहिलो बलमा रन आउट भई विकेट गुमाएको लायन्स पुरै समय दबाबमै रहयो। सिएनसीसीको तर्फबाट उत्कृष्ट बलिङ गर्दै बिनय कार्कीले ४ विकेट लिएका थिए भने सन्जय भट्टले दुई विकेट हात पारेका थिए।
नेपाली टिमलाई हौसला प्रदान गर्न नेपाली राजदूत महेश दाहाल, समाजिक अगुवा डा कृष्ण हमाल, एनआरएनका उपाध्यक्ष चुडामणि सापकोटा, एनआरएनका सदस्य ललित मल्ल ,राजु अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा क्यानबेराबासी नेपाली समुदायको सहभागिता थियो।
जितपछि खेलाडीलाई राजदूत दाहालले बधाइ ज्ञापन गर्दै खेलकुद मुलुक चिनाउने महत्वपुर्ण माध्यम रहेको र खेलाडी देशका सद्भावना राजदूत भएको बताए।
जितपछि कप्तान प्रेम चौधरीले अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालीको सशक्त क्रिकेट टिम छ भनेर प्रमाणित गर्नु आफैमा महत्वपुर्ण विषय भएको बताए। जितभन्दा पनि स्थानीय अष्ट्रेलियनसँग क्रिकेट खेल्न नेपाली टिमको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको चौधरीले बताए।
खेलाडीको हौसला बढाउन मुख्य प्रायोजक रहेको हिमालयन बिजनेस ग्रुपले फाइनलको लागि विभिन्न आकर्षक नगद पुरस्कार राखेको थियो। जसमा छक्का प्रहार गर्ने खेलाडीलाई एक छक्का वापत पचास डलर र क्याच लिए बापत एक क्याचको पचास डलर पुरस्कार थियो।
सिएनसिसीले २४ हप्ता लामो सिजनमा उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गर्दा कप्तान प्रेम चौधरीले दुइ सय डलरसहित ‘आउटस्टान्डिङ’ खेलाडीको पुरस्कार पाए।
यस्तै प्रशान्त बिष्टले मोष्ट भ्यालुएबल प्लेयरको उपाधि हात पार्न सफल भए। ५४ रन बनाउँदै १ विकेट र १ क्याच लिएका सहिल फाइनलका उत्कृष्ट खेलाडी घोषित भए। यस्तै बिनय कार्की उत्कृष्ट बलर र आशिष देवकोटा उत्कृष्ट ब्याट्सम्यान घोषित भए। विनयले यस लिगमा कुल ५२ विकेट लिएर लिगकै उत्कृष्ट खेलाडीको उपाधि समेत हात पारे।