अन्य मुलुकबाट अष्ट्रेलिया आउने जोकोही अब १४ दिन सेल्फ आइसोलेसनमा बस्नै पर्ने भएको छ।
आइतबार मध्यरातपछि लागू हुनेगरी अष्ट्रेलियन सरकारले यो व्यवस्था गरेको हो। अन्य मुलुकबाट आउने अष्ट्रेलियन नागरिक वा विदेशी नागरिक सबै सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ।
यस नियमको उल्लंघन गरेमा १ लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ। यस्तो नियमले अष्ट्रेलियामा आउँदै गरेका आप्रवासी, विद्यार्थी र अभिभावकहरु प्रभावित हुने छन्।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कम्तिमा ३० दिनका लागि अष्ट्रेलियामा आउने कुनै पनि यात्रुवाहक पानी जहाजलाई प्रवेश नदिने घोषणा गरेका छन्।
संसारभर फैलिएको महामारीबाट बच्न प्रधानमन्त्री मोरिसनले सबै अष्ट्रेलियनलाई एकजुट हुन र एक अर्कालाई सहायता गर्न आग्रह समेत गरेका छन्। कसैसँग भेट्दा हात नमिलाउन र भीडभाडमा नजान सरकारले आग्रह गरेको छ।