अस्ट्रेलियाको केन्द्रीय सरकारले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रमा गिरावट आउन नदिन र बेरोजगारी बढ्न नदिन १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने घोषणा गरेको छ।
अस्ट्रेलियाको अर्थतन्त्र ओरोलो लाग्ने क्रम जारी रहेको बेला यसबाट जोगिन प्रधानमन्त्री स्कट मोरिसनले उक्त योजना अघि सारेको बताएका छन्।
बिहीबार राजधानी क्यानबेरामा गरिएको घोषणामा नागरिकलाई आर्थिक सहयोगको प्याकेज, साना व्यापार तथा व्यवसायहरूको करमा कटौती, एक पेन्सनकर्मीलाई एक पटकका लागि नगद भुक्तानी र सिकारु कामदारहरूको रोजगारी सुरक्षित राख्न उनीहरूका रोजगारदातालाई आर्थिक सहयोग गर्नेलगायत छन्।
अस्ट्रेलियन सरकारले ६० लाख सामाजिक भुक्तानीदाता तथा पेन्सनकर्मी, बिरामी स्याहारकर्ता, सैन्य सेवाबाट निवृत्त युवा तथा रोजगार खोज्दै गरेका अस्ट्रेलियालीहरूलाई एक पटकका लागि ७ सय ५० डलर दिने बताएको छ। उनीहरू सो रकम भने मार्च ३१ पछि पाउनेछन्।
एक पटकको लागि मात्र दिइने उक्त नगद भुक्तानी गर्न सरकारलाई लगभग पाँच अर्ब डलरको व्ययभार बोक्नुपर्ने देखिएको छ।
अस्ट्रेलियनले अर्थतन्त्रलाई टेवा पुग्ने क्रियाकलापमा उक्त नगद खर्चिने विश्वास लिइएको प्रधानमन्त्री मरिसनले बताए।
मरिसनका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका वा क्वारेन्टाइन बस्ने अन्य कामदारलाई पनि विशेष सहयोग गरिने बताए।
घरमै उपचार्थ बसेका अस्ट्रेलियनले सो समयावधिमा ‘न्यु स्टार्ट’ नामक कल्याणकारी भत्ता पाउनेछन्।
क्यानबेरामा अस्ट्रेलियन सरकारले बिहीबार घोषणा गरेको आर्थिक सहयोगको प्याकेजका लागि ११ अर्ब डलर चालू आर्थिक वर्षभित्रै खर्च हुने जानकारी दिएको छ।
यस प्याकेज अनुरूप अस्ट्रेलियाभरका लगभग सात लाख साना तथा मझौला उद्योगी व्यवसायीहरूले २ हजारदेखि बढीमा २५ हजारसम्मको नगद भुक्तान पाउने छन् जसलाई उनीहरूले आफ्ना कर्मचारीको तलब वितरण गर्न वा थप कामदार भर्ना गर्न खर्च गर्नुपर्ने छ।