नेपाल र अष्ट्रेलियाबीच औपचारिक रुपमा कुटनीतिक सम्वन्ध स्थापित भएको ६० वर्ष पुगेको छ। सन् १९६०को फेब्रुअरी महिनाको १५ तारिखका दिन औपचारिक रुपमा नेपाल र अष्ट्रेलियाबीच कुटनीतिक सम्वन्ध स्थापित भएको थियो।
यसै अवसर पारेर अष्ट्रेलियास्थित नेपाली राजदूतावासले राजधानी क्यानबेरामा अष्ट्रेलियन राजनीतिज्ञ र विभिन्न नियोगका सदस्यहरू निम्त्याएर एक रात्रिभोजको आयोजना गरेको छ।
नेपालका राजदूत महेशराज दाहालले कार्यक्रममा अष्ट्रेलियन राजनीतिज्ञ तथा कुटनीतिज्ञको स्वागत गर्दै दुई देशबीचको आपसी सम्वन्ध प्रगाढ रहेको बताए। सो अवसरमा राजदूत दाहालले परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको सन्देश पढेर सुनाएका थिए।
सो अवसरमा उनले ब्रिटिस फौजका तर्फबाट गोर्खाली सेनाले अष्ट्रेलियाको पक्षमा लडेको इतिहास उल्लेख गरे। दाहालले नेपालमै अष्ट्रेलियाका लागि भिसा डेस्क स्थापना, शैक्षिक नीति, परारष्ट्र सम्वन्ध र वर्किङ होलिडे भिसा जस्ता महत्वपूर्ण विषय समेटेर नेपालको अवधारणा प्रस्तुत गरे।
कार्यक्रममा अष्ट्रेलियाका विदेश मन्त्रीको सन्देश सुनाउँदै मन्त्रालयकी सहसचिव एली लोसनले खेलकुदमा सन्दिप लामिछाने र स्वास्थ क्षेत्रमा सन्दुक रुइतको चर्चा गरिन्। कार्यक्रममा लेबरका सिनेटर एन्ड्रयु बर्ग र नेपाल–अष्ट्रेलियन पार्लियामेन्ट फ्रेन्डसिप समूहको तर्फबाट पिटर खलिलले नेपाली समाजको अष्ट्रेलियामा छुट्टै पहिचान बनेको बताए।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै उपनियोग प्रमुख द्रुपदा सापकोटाले नेपाली दूतावासले औपचारिक रुपमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यकता महसुस गर्दै यसको तयारीमा जुटेको बताइन्।