कप्तान फिलीप आर्थरले बेलायतबाट पहिलो पानी जहाज अस्ट्रेलियन भूमिमा ल्याएको दिन २६ जनवरीलाई यहाँ राष्ट्रिय दिवसका रुपमा धुमधामका साथ मनाइन्छ।
यहाँका विभिन्न शहरमा आतिशबाजी र विविध कार्यक्रम गरेर यस दिन अस्ट्रेलिया डे मनाइन्छ। यस दिन यहाँ बसोबास गर्ने विभिन्न देशका स्थानीय समाजले विविध कला संस्कृति झल्काउनेगरी आफ्ना प्रस्तुति दिएका छन्। एडिलेड शहरमा भएको अस्ट्रेलिया डे परेडमा नेपालको पञ्चेबाजाले धेरैको ध्यान आकर्षण गर्यो।
अस्ट्रेलिया डे का अवसरमा आयोजित र्यालीमा नेपाली समाजको तर्फबाट पञ्चेबाजा सहितको झाँकी प्रस्तुत गरिएको थियो। एडिलेड नेपाली समाजको संयोजन र एडिलेड पन्चेबाजा समूहको संयूक्त प्रयासमा परम्परागत नेपाली पञ्चे बाजा सडकमा घन्काइएको थियो।
दमाहा, ढोलक, टेम्को, कर्नलजस्ता परम्परागत बाजाले धेरैको ध्यान तानेको थियो। नेपाली परम्परागत बाजा र यसका बारेमा सोधखोज गर्नेहरु पनि उत्तिकै थिए।
एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मी नेपालका लोपोन्मुख बाजालाई विदेशमा पनि परिचय दिलाउने उद्देश्यले यहाँ पञ्चेबाजा घन्काइएको बताउँन्। ‘हामी विदेशमा छौँ, तर पनि स्वदेशको माया अनि आफ्नो पहिचानलाई बिर्सन सक्दैनौँ, नेपालमा नै हराउँदै गएको पञ्चेबाजा र नौमति बाजालाई विदेशमा पनि चिनाउने उद्देश्यले एडिलेडको सडक र्यालीमा पञ्चेबाजा घन्काइएको हो’ समाजका सदस्य सुर्य आचार्यले भने।
एनआरएनका दक्षिण अस्ट्रेलियाका संयोजक नविन पन्तले नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्नु आफूहरुको पनि दायित्व रहेको बताउँछन्। ‘एडिलेड शहरमा साथीहरुले पञ्चेबाजा समूह स्थापना गरेर यसको प्रचारमा जुट्नु भएको छ, जुन अतिनै महत्वपुर्ण उपलब्धी हो’ उनले भने।