सिड्नीको हिल्टन होटलमा एक दिने एक्सपर्ट एजुकेसन एण्ड माइग्रेसन सेमिनार सम्पन्न भएको छ।
नयाँ वर्ष लागेसँगै सिड्नीमा विद्यार्थी तथा पढाइ सकेर स्थायी आप्रवासनको उपाय खोजिरहेकाको लागि यो कार्यक्रम गरिएको आयोजक एक्सपर्ट एजुकेसनले जनाएको छ।
सन् २०१९ को तथ्यांकअनुसार हाल करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न महानगरका विभिन्न युनिभर्सिटी र कलेजमा अध्ययन गरिरहेका छन् र यो संख्या अझै बढ्दो क्रममा छ।
नेपालीलगायत दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरेर अस्ट्रेलियामा पछिल्ला दिनहरूमा राज्यले अवलम्बन गरेको आप्रवासन नीति र त्यसका संभावना साथै अन्य प्राविधिक पक्ष जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको निर्देशक बद्री अर्यालले बताए।
डेढ दशक अघिदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया आउन परार्मश दिँदै आएको एक्सर्पट एजुकेसन एण्ड भिसा सर्भिसेसले उक्त एक दिने सेमिनारले सुन्दर भविष्य बोकेर उच्च अध्ययनमा यहाँ आएका विद्यार्थीलाई आफ्नो लक्ष्य प्राप्तिमा सहयोग हुने जनाएको छ।
संस्थाका निर्देशक बद्री अर्यालले भन्छन्, ‘छिट्टो छरितो र पारदर्शी रूपमा सुलभ र सही दिशा निर्देश गर्न सेमिनारको आयोजना गरिएको हो। सेमिनारमा करिब तीन सय नेपाली तथा अन्य मुलुकका विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा एक्सपर्टका रजिस्टर्ड माइग्रेसन एजेन्टहरूले अहिलेको अस्ट्रेलियाको पछिल्लो क्षेत्रीय आप्रवासन नीति अर्थात रिजनल मुभमेन्टकोबारेमा विस्तृत जानकारी दिएका थिए।
पछिल्ला केही महिनामा अस्ट्रेलियाले परिवर्तन गरेको कैयौं नियमहरूले विद्यार्थी अन्यौलमा परेको बेला यो सेमिनारले धेरै कुरा बुझ्न मद्धत मिलेको सहभागी नेपाली विद्यार्थी निराजन गौतमले बताए।
‘यस पटक सेमिनारको मुख्य उद्धेश्य नयाँ रिजनल क्षेत्रहरूमा जानुको फाइदा, एक अथवा दुई वर्ष थप्न मिल्ने पिएसडब्लु (टिआर) भिसा, रिजनल १९० र ४९१ भिसा सब क्लासको मापदण्डहरूको विषय हो’, एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले भने।
‘यतिखेर पढाइ सकेर वा पढ्दै स्थायित्वको खोजीमा रहेका विद्यार्थीका लागि कुन क्षेत्रमा जाने र त्यहाँ कस्तो सुविधा प्राप्त हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ,यसैले पनि हामीले यो सेमिनार राखेका हौं’, निर्देशक शर्माले थप भने।
सेमिनारमा अस्ट्रेलियाभरका करिब २७ वटा विश्वविद्यालय र शैक्षिक संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो। जहाँ विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो जिज्ञासा राखेका थिए।
यति धेरै युनिभर्सिटी एवं कलेजहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष परार्मश लिन पाउनु विद्यार्थीका लागि पनि महत्वपूर्ण विषय रहेको र एक्सपर्टले यसका लागि सहजकर्ताको भूमिका खेलेको निर्देशक शर्माले बताए।