तामाङ रिक्रेयसन क्लब (टिआरसिसी) को आयोजनामा सम्पन्न छैटौं एक्सपर्ट कप एक दिवसीय फुटबल प्रतियोगिताको उपाधि सिड्नीको माछापुच्छ्रे क्लबले जितेको छ।
टाइ ब्रेकरमा प्रतिद्वन्द्वी टिआरजीलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै माछापुच्छ्रेले उपाधि हात पारेको हो।
माछापुच्छ्रेको जितमा आङ्वे शेर्पा, कुमार क्षेत्री र कपिल क्षेत्रीले पेनाल्टीलाई निर्णायक गोलमा परिणत गरेका थिए।
टिआरजीको तर्फबाट भने फाइनलमा प्रनिश रन्जित र सुरज राउतले गोल गरे पनि इनोज न्यौपानले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा टिआरजी उपाधि जित्नबाट चुकेको थियो।
अस्ट्रेलियाका २० वटा सामुदायिक नेपाली क्लबहरूको सहभागिता रहने प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्द आकर्षण बनेका थिए।
विजेताहरूलाई प्रमुख अतिथिको हैसियतले रोहितले ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
इन्डोनेसियाको लिग फुटबलमा व्यस्त रोहित यसै प्रतियोगिताको प्रमुख अतिथिको हैसियतले अस्ट्रेलिया आइपुगेका थिए।
नेपाली रक्षापंक्तिका खम्बा रोहितले खेलुकदले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताए।
रोहितले अस्ट्रेलियामा नेपाली समुदायभित्र पनि फुटबलको यस्तो खाले प्रतियोगिता हुनु गौरवको विषय भएको बताए।
पुरस्कार वितरण समारोहमा प्रायोजक एक्सपर्टका निर्देशक सन्जिव शर्माले खेलकुद विदेशी भूमिमा नेपाली समुदायलाई जोडने महत्वपूर्ण माध्यम भएको बताए।
आयोजक क्लब टिआरसिसीका संस्थापक अरुण तामाङले विदेशमा रहेर पनि फुटबल प्रतियोगिताको माध्यमबाट मुलुक चिनाउने अभियानमा लागेकोमा आयोजक बधाइका पात्र भएको बताए।
अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष विजेन बटाजुले रोहितको उपस्थितिले खेलाडीमा थप उत्साह बढेको बताए।
एक्सपर्ट कप फुटबलमा मेलवर्नको रोयल वेस्टर्न र क्यानबेराको युनाइटेड क्यानबेरासहित कुल २० वटा फुटबल टोलीको सहभागिता रहेको क्लबका सचिव बैकुण्ठ डंगोलले बताए।