नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को सिड्नीमा भएको दशौ साधारण सभामा कांग्रेस नेताहरुले देश साम्यवादतिर उन्मुख भएको आरोप लगाएका छन्।
छाँया सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेता नारायण खड्काले प्रधानमन्त्री केपीशर्मा ओलीले देशलाई साम्यवादतर्फ लैजान खोजेको आरोप लगाए। कांग्रेसले २०४८ सालमा मुलधारको राजनीतिमा डोहोर्याएर ल्याएको तत्कालीन एमालेले अहिले साम्यवादी चेहरा देखाउन खोजेको उनको आरोप छ।
‘ओलीजी उत्तर (चीन)को आशिर्वादमा चल्न खोज्नुभएको छ, राज्यका सबै क्षेत्रको अधिकार कटौति गरी शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ,’ नेता खड्काले भने, ‘चीन र कम्वोडियाको मोडलमा प्रधानमन्त्रीले सरकार सञ्चालनको अभ्यास गर्नु भनेको देशलाई साम्यवादतिर लैजानु हो।’
मिडिया काउन्सिल विधेयक ल्याएर मिडियामाथि मात्रै नभई राज्यका सबै क्षेत्रमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न खोजेको उनको आरोप छ। दुई तिहाईको सरकारले मात्र देशमा समृद्धि नआउने भन्दै नेता खड्काले राजनीतिक, आर्थिक र सामाजिक रूपमा सरकारले सन्तुलन मिलाउन सक्नुपर्ने धारणा राखे।
कार्यक्रमका विशेष अतिथि एनपी साउदले प्रेस स्वतन्त्रता, नागरिक अधिकार, जनताको मौलिक अधिकारविरुद्ध ओली सरकारको पछिल्ला कदमले प्रजातन्त्रबादीहरु सशंकित भएको बताए। एक अर्को प्रसङ्गमा उनले विदेशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकताको सवालमा नेपाली कांग्रेसमा कुनै विमति नरहेको बताए।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर बिरहीले प्रेस स्वतन्त्रताको आन्दोलनमा पटक पटक होमिएको नेपाली प्रेसले फेरि स्वतन्त्रताको अर्को लडाइ लड्नु पर्ने बेला आएको बताए। ओली सरकार प्रेस काउन्सिल ऐन र संचार विधेयक मार्फत प्रेसको घाँटी निमोठ्ने प्रयासमा लागेको उनको भनाइ छ।
अर्का पत्रकार कवीर राणाले प्रजातन्त्र विना प्रेस स्वतन्त्रता सम्भव नभएको बताए। कार्यक्रममा अस्ट्रेलियास्थित नेपाली दूतावासकी प्रथम सचिव द्रुपदा सापकोटाले बिदेशमा रहेका संघ संस्था नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने कडीको रुपमा रहेको बताइन्। कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, अभियन्ता इन्द्रा वनले नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना प्रदान गरे।
साधारणसभामा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सरोज थापा, नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, महिला संघकी मन्जु खाँण लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए। कार्यक्रममा एनएडिएफका महासचिज माधव गैरैले स्वागत, उपाध्यक्ष पुर्णनाथ घिमिरे संस्थाको कार्यविवरण प्रस्तुत गरेका थिए भने अध्यक्ष विवेक थापाले संस्थाको महत्वबारे प्रकाश पारेका थिए।
दशौं साधारण सभामार्फत नयाँ कार्यसमितिको अध्यक्षमा निर्वतमान उपाध्यक्ष सुरेन्द्र सापकोटा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी तथा सामाजिक अभियन्ता बुद्धि डल्लाकोटीलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पद हात पारेका थिए। यस्तै संस्थाको उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा भने भिष्म भण्डारीले सरोज पाण्डेलाई भारी मतान्तरले पराजित गरे। यसै संस्थाको सचिवमा सत्यप्रकाश कडेंल, कोषाध्यक्षमा प्रज्वल भट्टरार्इ, समाजिक एवं सांस्कृतिक संयोजकमा अन्जना बस्नेत, पव्लिक अफिसरमा हरिकृष्ण अधिकारी, युवा संयोजकमा मनोज आचार्य निर्विरोध निर्वाचित भए। निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिकातर्फबाट संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपीनियताको सपथ खुवाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि नरायण खड्का तथा विशेष अतिथि एनपी साउदलगायतलाई एनएडिएफका अध्यक्ष विवेक थापाले मायाको चिनो प्रदान गरे। कार्यक्रममा निर्वाचन समितिका प्रमुख सुरेन्द्र सिग्देल, आयुक्तहरु बालचन्द्र भट्टराई, दिल्ली ढकाल, महेन्द्र लम्साल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।