तामाङ रिक्रेयसन क्लब ( टिआरसीसी)को आयोजनामा यही आउँदो जनवरी १९ तारिखमा छैठौं एक्सपर्ट कप एक दिवसीय फुटबल प्रतियोगिता हुने भएको छ।
अस्ट्रेलियाका २० वटा सामुदायिक नेपाली क्लबहरूको सहभागिता रहने प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय खेलाडी रोहित चन्द आकर्षण बन्ने भएका छन्। इन्डोनेसियाको लिग फुटबलमा व्यस्त रोहित यसै प्रतियोगिताको प्रमुख अतिथिको रूपमा अस्ट्रेलिया आइपुगेका हुन्।
शुक्रबार एक्सपर्ट एजुकेसनको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली रक्षापंक्तिका खम्बा रोहितले खेलुकदले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूत्रमा बाध्ने काम गरेको बताए।
रोहितले अस्ट्रेलियामा नेपाली समुदायभित्र पनि फुटबलको यस्तो खाले प्रतियोगिता हुनु गौरवको विषय भएको बताए।
शुक्रबार नै इन्डोनेसियाबाट अस्ट्रेलिया आएका रोहित प्रतियोगिता हेरेर फर्किने छन्।
पत्रकार सम्मेलनमा प्रयोजकको तर्फबाट एक्सपर्टका निर्देशक सन्जिव शर्माले खेलकुद विदेशी भूमिमा नेपाली समुदायलाई जोडने महत्वपूर्ण माध्यम भएको बताए। सन्जिवले युवा वर्गलाई खेलकुदको माध्यमबाट प्रतिभा प्रस्फुटन हुनुका साथै स्वस्थ अनि मस्त राख्ने हुनाले पनि यसको महत्व दिनानुदिन बढेको बताए।
पत्रकार सम्मेलनमा टिआरसिसीका संस्थापक अरुण तामाङले विदेशमा रहेर पनि फुटबल प्रतियोगिताको माध्यमबाट मुलुक चिनाउने अभियानमा लागेकोमा आयोजकलाई बधाइ दिए।
प्रतियोगिताको विजेतालाई दुई हजार डलर र उपविजेतालाई एक हजार डलर प्रदान गरिने आयोजकले जनाएको छ।
एक्सपर्ट कप फुटबलमा मेलवर्नको रोयल वेर्स्टन र क्यानबेराको युनाइटेड क्यानबेरासहित कुल २० वटा फुटबल टोलीको सहभागिता रहने क्लबका सचिव बैकुण्ठ डंगोलले बताए ।