पर्यटकको रोजाइमा फरक फरक ठाउँ पर्छन्। तर एक अष्ट्रेलियन जो ५८ पटक आउँदा पनि उनलाई नेपाल भ्रमणको भोक मेटिएको छैन। अष्ट्रेलियाको इनरवेल्थ टेक्नोलोजीका सिइओ क्रिस वाकर पछिल्लो २५ वर्षमा ५८ पटक नेपाल भ्रमणमा आएका छन्।
‘पर्यटकको लागि घुमेर नअघाइने मुलुक हो नेपाल, म त्यहाँ गएर कहिल्यै अघाइन, फेरि केही महिनामै जान्छु’ उनले भने। अष्ट्रेलियाका पर्यटन व्यवसायी तथा लेखक समेत रहेका क्रिस वाकर नेपाल संसारकै रमणीय देश रहेको बताउँछन्।
हरेक पटक उनी नेपाल जाँदा कोही न कोही अष्ट्रेलियन लिएर जाने गरेका छन्। नेपाल पुग्ने जो कोहीले पनि सुन्दर देशमा नयाँ भ्रमण अनुभव भएको भन्दै प्रशंसा गर्ने गरेको क्रिसले सुनाए।
सन् १९७६ मा उच्च शिक्षा अध्ययन सकेर व्यवसायमा लागेका क्रिसले केही किताब पनि लेखेका छन्। त्यति मात्र होइन उनी उत्प्रेरणा बाचकका रुपमा समेत अष्ट्रेलियामा परिचित छन्।
हिमाली भेगका स्थानीयको अतिथि सत्कारबाट समेत आफू प्रभावित भएको क्रिस बताउँछन्। ‘पृथ्वीको एउटा रोमाञ्चक देशका रुपमा मैले नेपाललाई लिएको छु, प्रत्येक पटक जाँदा नयाँ अनुभवहरु थपिन्छन्, छुट्टै आनन्द मिल्छ’ उनले भने ‘साथीहरु एउटै देश कति पटक गइरहेको भन्छन् तर मलाई नेपाल घुमेर कहिल्यै पुग्दैन।’
पछिल्लो १५ वर्षदेखि आफू पर्यटन व्यवसायमा जोडिएकाले पनि नेपाल आउजाउ बाक्लिएको हुन सक्ने उनी बताउँछन्। धार्मिक पर्यटकका लागि समेत नेपालको यात्रा अलौकिक रहने उनको अनुभव छ।
हिमाली भेगको ट्रेकिङ गर्दा सुन्दर हिमालका दृष्यले मानसिक शान्ति मिल्ने उनको ठम्याई छ। ‘नाम्चे बजारबाट देखिने हिराका हारझैं हिमाल र फेवातालमा देखिने माछापुच्छ्रेको छाँया मेरो मानसपटलमा रहिरहेको छ’ उनले भने।
पछिल्लो पटक नेपाल सरकारले भ्रमण वर्ष मनाइरहँदा उत्साहित देखिएका क्रिसले न्यु साउथवेल्सको संसद भवनमा आयोजित कार्यक्रममा नेपालको मुक्तकण्ठले प्रशंसा गरे।
पर्यटन मन्त्री योगेश भट्टराई उपस्थित कार्यक्रममा क्रिसले नेपाल पुग्ने जो कोही पर्यटकले आफ्ना साथीभाइ इष्टमित्रलाई अर्को पटक भ्रमणको निम्तो दिने गरेको बताए। माथिल्लो मुस्ताङदेखि लोमान्थाङसम्मका रीतिरिवाजसँग पनि परिचित क्रिसले हिमाली भेगमा स्कुल निर्माणमा समेत सहयोगी भूमिका निर्वाह गरिरहेका छन्।
क्रिसको कामना छ, ‘सके र भ्याएसम्म अझै नेपाल पुग्ने छु र अरु अष्ट्रेलियनलाई पनि घुमाउने प्रयास गर्ने छु।’