अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनमा विविध कार्यक्रम गरी नेपाल भ्रमण वर्ष २०२०को शुभारम्भ गरिएको छ।
शुभारम्भ कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए। कार्यक्रमको सुरूमा अस्ट्रेलियामा डढेलाले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख प्रकट गर्दै मौनधारण गरिएको थियो।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको सहानुभूति रहेको भन्दै चाँडै नै अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे।
नेपालले भ्रमण वर्ष मनाउँदै गर्दा अस्ट्रेलियाली पर्यटकको संख्यामा बढ्ने भट्टराईको विश्वास छ।
गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गएका थिए यो वर्ष त्यो संख्या १ लाख पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए।
कार्यक्रममा एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले अस्ट्रेलियामा नेपाली समुदायको परिचय महत्वपूर्ण बन्दै गएको बताउँदै आफू मार्च महिनामा नेपाल जान लागेको बताए।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले समय परिस्थितिका कारण कार्यक्रमलाई फरक शैलीमा गर्नु परेको बताए।
औपचारिक कार्यक्रम सकिएपछि सहभागीहरूले नेपालको झन्डा र भिजिट नेपालको ब्यानर बोकेर र्यालीसहित ओपेरा हाउसतिर गएका थिए। र्यालीमा मन्त्री भट्टराई पनि सहभागी थिए।
ओपेरा हाउसभित्र झन्डा, ब्यानर लैजान पहिला नै स्वीकृति लिनु पर्छ। तर नेपाली पक्षले उक्त स्वीकृति लिएको थिएन।
झन्डा र ब्यानर बोकेका मानिसभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोकेर के-को झन्डा हो? किन ल्याएको? भनेर सोधे।
अनुमतिबिना भित्र लिन नपाइने भएपछि र्यालीमा गएकाहरूले झन्डा र ब्यानरलाई बाहिरै छोडेका थिए।
पछि मन्त्री भट्टराईसहित अधिकारीहरू ओपेराभित्र गएर फोटो खिचेर फर्केका थिए।
राजदूत दाहालले सुरक्षाकर्मीले गरेको त्यही सोधपुछलाई बढाइचढाइ गरी समाचारहरू आएको भन्दै दु:ख व्यक्त गरे।
मन्त्री भट्टराईले त्यस्ता समाचारका पछि गम्भीर नियत लुकेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्- अस्ट्रेलियाको सिड्नीमा नेपाली राजदूतावासको आयोजना तथा एनआरएनएलगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एनएसडब्लु स्टेटका सभामुखसहित अष्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरूका तर्फबाट शुभकामना मन्तव्य पनि व्यक्त भएको थियो। मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो।
भएको यही हो। काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो? नियत गम्भीर छ!