तीन महिनादेखि लागेको डढेलोले अष्ट्रेलियामा २३ जनाले ज्यान गुमाएका छन्। सयौं जनता घरबारविहीन भएका छन्। डढेलोले अहिलेसम्म पचास करोड पशुपंक्षी जलेर मरेको अनुमान छ।
अष्ट्रेलियाको कहालीलाग्दो वातावरणीय संकटपछि विश्वभरबाट सान्त्वनासँगै सहयोगका हातहरु अघि बढेका छन्। विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाहरु सहयोगका लागि तत्पर भएका छन्।
यसै क्रममा नेपाली व्यवसायीहरुले पनि अस्ट्रेलियन सरकारलाई सहयोग गर्न थालेका छन्। व्यवसायीका विभिन्न संघसंस्थाले आ–आफ्नो तर्फबाट सहयोग रकम संकलन अभियान थालेका छन्।
झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाँची समाज लगायतका संघ संस्थाले पनि सहयोग संकलन कार्य प्रारम्भ गरेका छन्।
यसै क्रममा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले सोमबार सबै कर्मचारी तथा संस्थाकोतर्फबाट यहाँको ग्रामीण अग्नी निणन्त्रण विभागलाई दश हजार अस्ट्रेलियन डलर सहयोग गरेको छ।
विभागको कार्यालयमा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक सन्जिव शर्माले विभाग प्रमुख शेन फिजसिमोन्सलाई दश हजार डलरको चेक हस्तान्तरण गरे।
‘क्रिसमस पार्टी मनाउन हिँडेको एक हुल एक्सपर्टका कर्मचारीले बाटोमा डढेलोको प्रकोप प्रत्येक्ष देखेपछि कर्मभूमिमा लागेको रापमा सबैले जल छर्नुपर्नेगरी पीडा महशुस भयो’ शर्माले भने। सो पीडालाई लिएर शैक्षिक परामर्श सेवामा काम गर्ने कर्मचारीले सानो सानो सहयोग उठाउन सुरु गरे। उठेको रकमजत्ति नै संस्थाले हालिदिने बचन दियो। केही दिनमै एक्सपर्टले दश हजार डलरको सहयोग जुटायो।
‘डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको अवस्थामा कर्मभूमिका लागि पनि सहयोगमा जुट्नु हाम्रो कर्तब्य हो, एक्सपर्ट टीमले पनि सो कर्तव्य पुरा गरेको हो’ शर्माले भने।
डढेलोको कारण दुई हजार ६ सय घरहरु नष्ट भएका छन् भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै छ।