तमु समाज अस्ट्रेलियाको आयोजनामा शनिबार तमु लोसार मनाइएको छ।
पुस महिनाको मध्यमा पर्ने यो पर्वलाई सिड्नीमा रहेका गुरुङ जातिले नाचगान र भोजभतेर गरेर शुभकामना आदान प्रदान गरी मनाएका छन्।
सिड्नीको हर्षभिलस्थित मराना अडोटोरियममा आयोजित तमु लोसार कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले विदेशमा पनि आफ्नो परम्परा र रीतिरिवाजलाई निरन्तरता दिनुले देशप्रतिको सम्मान प्रकट हुने बताए।
सबैखाले पर्व, परम्परा तथा संस्कृतिलाई आत्मसाथ गरी सम्मान दिनुले विविधतामा पनि नेपालीको एकता बाँधिएको स्पष्ट हुने उनले बताए। राजदूत दाहालले अस्ट्रेलिया आएर पनि तमु लोसार मनाउन पाउँदा गर्व लागेको बताए।
कार्यक्रममा गुरुङ संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। गुरुङ जातिको नयाँ वर्षका रुपमा मनाइने तमु लोसार सिड्नीमा हरेक वर्ष मनाइदै आएको एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङले बताए।
नेपालबाट आएका लामाद्वारा बुद्ध भगवानको मूर्तिमा पुजापाठ गरेर कार्यक्रमको प्रारम्भ गरिएको थियो। कार्यक्रममा तमु समाज अस्ट्रेलियाका अध्यक्ष दिनेश गुरुङले तमु लोसार अस्ट्रेलियामा मनाउन पाउनु सबै गुरुङ जातिका लागि गर्वको विषय बनेको बताए।
अध्यक्ष दिनेशले कार्यक्रमलाई सफल बनाउने तमु समाजका पूर्व अध्यक्षहरु, आयोजक, प्रायोजकलाई धन्यवादस्वरुप खादा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा नेपालबाट आएकी कलाकार मिलन नेवाको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा एनआरएनका महासचिव डा ज्ञानेन्द्र रेग्मी र उपाध्यक्ष देव गुरुङ, समाजिक अभियन्ता अरुण तामाङ लगायतको उपस्थिति थियो।