नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० योजना सफल बनाउन एनआरएन अस्ट्रेलियाको एक टोली नेपाल गएको छ।
आफ्ना पाँच दर्जन विदेशी र नेपाली मुलका अस्ट्रेलियन लिएर अंग्रेजी नयाँ वर्षको पहिलो दिन टोली नेपाल पुगेको हो। एनआरएन अस्ट्रेलियाको यो टोलीको संयोजन युवा अभियन्ता खेम शर्मा र संयोजन एनआरएनका पुर्व युवा संयोजक विजय पोखरेलले गरेका छन्।
त्रिभुवन विमानस्थलमा अस्ट्रेलियन टोलीलाई एनआरएनका भ्रमण वर्ष संयोजक तथा निर्वतमान अध्यक्ष भवन भट्टले फुलमाला र खादा लगाएर स्वागत गरेका थिए। संसारका करिब ७० राष्ट्रमा फैलिएको एनआरएन संजाललाई देशप्रेमको सन्देशमा गाँसेर मुलुकको पर्यटन प्रवर्द्धन अभियानमा एकसाथ अघि बढ्ने लक्ष्य रहेको भट्टले बताए।
एनआरएनले संसारभर छरिएर रहेका आफ्नो शाखा मार्फत स्थानीय राजदूतावाससँग मिलेर जनवरीको पहिलो साता भ्रमण वर्षको शुभारम्भ कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए।
‘केही स्थानीय अस्ट्रेलियन र नेपाली मुलका अस्ट्रेलियनहरुलाई लिएर पहिलो वर्षको पहिलो दिन नेपाल पुग्ने र राज्यको अभियानमा एनआरएन सँगै छ भन्ने शन्देश दिनेछौँ’ भ्रमण वर्षका अभियन्ता विजय पोखरेलले भने।
कार्यक्रमका संयोजक खेम शर्माले यस अभियान अन्तर्गत अस्ट्रेलियन टोलीले नगरकोट चितवन, पोखरा र धुलिखेल लगायत स्थानको भ्रमण गरी विभिन्न कार्यक्रमको आयोजना सहित केही सहयोग रकम समेत हस्तान्तरण गर्ने योजना बनाएको बताए।
एनआरएन अस्ट्रेलियाका युवा संयोजक इर्शाद अहमदले विदेशमा बसेर पनि मुलुकको उन्नति र प्रगतिमा रमाउने प्रवासी नेपालीहरुले यो अभियानलाई सहयोग पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
अस्ट्रेलियन टोलीले धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत चितवनमा बन्दै गरेको क्रिकेट रंगशालामा गएर मैत्रीपूर्ण खेल खेल्ने र सहयोग गर्ने योजना समेत बनाएको छ।
कार्यक्रममा अस्ट्रेलियाबाट नेपाली समुदायका अगुवा तथा पर्यटनदूत बद्री अर्याल, युवराज भट्टराइ, शेषमणी शर्मा ,सुभास शाह लगायत सामेल छन्।
अस्ट्रेलियन टोलीलाई बुधबार नै नेपाल पत्रकार महासंघको तर्फबाट कार्यालयमा स्वागत गरिएको थियो।